सर्लाहीमा आर्थिक वर्ष २०७९/०८० मा संघिय सरकारबाट प्राप्त भएको बजेटमध्ये पूँजीगततर्फ ८८ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको छ । पूँजीगततर्फ संघ सरकारबाट पालिका तथा अन्य निकाय र कार्यालयलाई प्राप्त रु पाँच अर्ब पाँच करोड ५६ लाख ८७ हजार बजेट प्राप्त भएकोमा रु चार अर्ब ४९ करोड ९० लाख ४२ हजार सात सय ६५ दशमलव ४८ पैसा अर्थात् ८८ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार असार महिनामा मात्रै रु एक अर्ब ३२ करोड ५६ लाख १५ हजार सात सय एक दशमलव ८५ पैसा खर्च भएको हो । रु ५५ करोड ६६ लाख ४४ हजार दुई सय ३४ दशमलव ५२ पैसा बजेट भने खर्च नभई फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा चालु खर्चतर्फ ९४ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको छ ।चालु खर्चतर्फ जिल्लाका लागि प्राप्त रु १३ अर्ब ६४ करोड ८९ लाख ३२ हजार नौ सय ९१ बजेटमध्ये रु १२ अर्ब ९१ करोड ३४ लाख ८८ हजार तीन सय ७९ दशमलव चार पैसा खर्च भएको कार्यालयले जनाएको छ । चालु खर्चतर्फ रु ७३ करोड ५४ लाख ४४ हजार छ सय ११ दशमलव ९६ पैसा खर्च नभई फिर्ता भएको छ ।
चालुतर्फ पनि असार महिनामा मात्रै रु दुई अर्ब १२ करोड दुई लाख २६ हजार आठ सय ६१ दशमलव ६१ पैसा खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक न्यौपानेले बताए । उनका अनुसार राष्ट्रिय स्तरको तुलनामा जिल्लामा पुँजीगत तथा चालुखर्च तर्फको बजेट खर्चको प्रतिशत राम्रो रहेको हो । जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका गरी कुल २० वटा पालिकाहरु रहेका छन् भने संघ तथा प्रदेशका करिब ४० भन्दा बढी कार्यालयहरु रहेका छन् ।