Close This

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशन सम्पन्न,अध्यक्षमा सापकोटा निर्वाचित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१९ गते   १८१९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित हुनु भएको छ । चितवनमा शनिवार(हिजो) र आइतबार(आज) भएको चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारी बिनै १ सय ८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १ सय ८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जर्नादन पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार  त्यसअघि  महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो । 
अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १ सय ८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेको समयमा नेतृत्वका विषयमा सहमति जुटेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदार मध्यकै एक गोविन्द रोका (सचिन)ले छाडेपछि सापकोटाको नाममा सहमति भएको प्रेस सेन्टर नेपाल महाधिवेशन आयोजक समितिले जनाएको छ । रोकाकै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुटेको छैन् । महाधिवेशनले ८ मनोनितसहित १ सय ९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १ सय ८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । र अध्यक्षमा सापकोटा निर्वाचित हुनु भएको हो ।
प्रेस सेन्टर नेपालमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महा सचिव एक, उप महासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहने व्यावस्था छ । अध्यक्षमा विष्णु सापकोटा (जुगल), गोविन्द रोका (सचिन), बलराम थापा, लक्ष्मी पुन लगायतको दाबी रहेको थियो । ७७ वटै जिल्ला ७ भौगालिक प्रदेश,उपत्यका,प्रवास र एसोसिएट गरी ११ प्रदेशका गरि करिब १ हजार जना प्रतिनिधिहरुको सहभागीतामा चितवनको भरतपुरमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech