सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ।बागमती नगरपालिकालाई ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैँया ४० पैसा नदीजन्य पदार्थ हानिनोक्सानी पु¥याएको भन्दै विशेष अदालतले नगर प्रमुख थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर,मुरारी बाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार नगर प्रमुख थापा,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेल र इन्जिनियर पौडेललाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा दोषी ठहर गरेको भएपनि उनीहरूको सजाय निर्धारणका लागि अदालतले साउन २९ गतेको मिति तोकेको छ ।
बुधबारको आंशिक ठहरमा “यसमा मिसिल संलग्न प्रमाणबाट प्रतिवादी भरत कुमार थापा र निजका एकासगोलका अन्य प्रतिवादीहरूको समग्र आय व्ययको सम्बन्धमा मूल्याङ्कन गर्दा समग्र जाँच अवधिको कूल आय नौ करोड १४ लाख ३१ हजार तीन रुपैँया ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार तय ९१ रुपैँया १४ पैसा देखिन आई कूल आयभन्दा कूल व्यय तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ रुपैँया २३ पैसा बढी देखियो ।
तसर्थ,निज प्रतिवादीको आयभन्दा व्यय बढी देखिएको तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ रुपैँया २३ पैसा बराबरको सम्पत्ति निज प्रतिवादीले गैर कानूनी रुपमा आर्जन गरेको देखिन आई निज प्रतिवादीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम १ (एक) वर्ष कैद र बिगो बराबर तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ रुपैँया २३ पैसा जरिवाना हुने ठहर्छ।साथै,आरोप पत्रमा दाबी गरिएको मध्ये उक्त बिगो तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ रुपैँया २३ पैसा बराबरको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत उक्त ऐनको दफा ४७ बमोजिम जफत हुने ठहर्छ।”भनिएको छ ।
विशेष अदालतले यो मुद्दामा सजाय निर्धारण प्रयोजनका लागि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,२०७४ बमोजिम साउन २९ गते सुनुवाइ गर्ने आदेश दिएको छ ।सोही मुद्दामा प्रतिवादी बनाइएका नगर उप प्रमुख लिला कुमारी मोक्तान,तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले भने प्रमाणको अभावमा सफाइ पाएका छन् ।