भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ ।भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो ।भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।