पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र र प्रशासकीय अधिकृत सुरेश मिलेर अनियमितता गरेको भन्दै गाउँपालिकामा १५ दिनदेखि तालाबन्दी,

189 Shares

सर्लाहीको पर्सा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेका भन्दै पर्साका जनप्रतिनिधिहरुले १४ दिनदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।हाल सम्म भएको खर्चका विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मागसहित फागुन १ गतेदेखि गाउँपालिकामा अन्य जनप्रतिनिधिहरुले लगाएको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेका छन् ।पर्सा गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । 
गत आर्थिक वर्ष २०७९÷०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने,शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी,करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने,इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने,२०७४ सालदेखि अहिलेसम्मको पेस्की र बेरुजु फर्छ्यौट गर्नुपर्नेलगायतका आन्दोलित जनप्रतिनिधिहरुले माग राखेका छन् ।
आफूहरूले राखेका माग सम्बोधन नभएपछि तालाबन्दी गरेको र दुई साता बितिसक्दा पनि छलफलबाट समस्याको निकास निकाल्न कुनै पहल नभएको पर्सा गाउँपालिका २,संग्रामपुरका वडाध्यक्ष राकेश रामले बताए ।“प्रमुख प्रशासकीय अधिकृतले हामीले मागेका यी सूचना कार्यालयको गोपनीयतासँग जोडिएको भन्दै दिन मिल्दैन भने,जनप्रतिनिधिहरुलाई नै सूचना दिँदा गोपनीयता कसरी भंङ्ग हुन्छ ?” वडाध्यक्ष रामले भने,“जबसम्म हाम्रो माग सम्बोधन हुँदैन तबसम्म हामी ताल्चा खोल्ने पक्षमा छैनौँ ।”उनले बताए ।
सुरुमा कार्यपालिका बैठकबाटै १९ बुँदे माग पूरा गर्ने र बहुमत जनप्रतिनिधिहरुले मागेको सूचना उपलब्ध गराउने निर्णय भए पनि पछि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाको निर्णयबाट पछि हटेको आन्दोलनरत जनप्रतिनिधिहरुको भनाई छ ।पर्सा गाउँपालिकामा १५ सदस्यको कार्यपालिका  छ ।त्यसमध्ये चार जना वडाध्यक्ष र चार जना सदस्यसहित आफूहरू बहुमत सदस्यहरुले १९ बुँदे माग राखेर गाउँपालिकामा तालाबन्दी गरेको पर्सा गाउँपालिका ४ का वडाध्यक्ष सुबोध राय यादवले बताए ।कार्यालयको मूलगेटमै तालाबन्दी भएपछि कर्मचारी दुई सातादेखि कार्यालयमा आएका छैनन् भने कार्यालय बन्द हुँदा सेवा लिन आउने सेवाग्राही त्यसै फर्किरहेका स्थानीयले बताए ।
गाउँपालिकामा कार्यरत वन प्राविधिक राजेशप्रसाद यादव,प्रशासन,योजना तथा जिन्सी शाखाका नायब सुब्बा उपेन्द्र राय यादव र सूचना तथा सञ्चार प्रविधि अधिकृत विमलेश रायलाई हटाउनुपर्ने आन्दोलित पक्षले माग अघि सारिएका छन्।प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवले संघिय सरकार मातहतका कर्मचारी गाउँपालिकाले हटाउन नसक्ने बताए । गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव(विस्पद) ले आफू अहिले व्यक्तिगत काममा व्यस्त भएको र केही दिनभित्रै आन्दोलित जनप्रतिनिधिहरुसँग छलफलमा बसेर समस्या सुल्झाउने बताए ।उनले जनप्रतिनिधिहरुले मागेका सूचना प्रदान गर्न र कर्मचारीहरुमा रहेका कमी कमजोरी सुधार गर्न आफू तयार नै रहेको बताए ।गाउँपालिका कार्यालय बन्द रहे पनि वडा कार्यालय र मातहतका अन्य कार्यालय भने नियमित सञ्चालन भइरहेका उनले बताए । 

सम्बन्धित समाचार