सिन्धुलीगढी दरबार पुनःनिर्माणका लागि करोडौँ लगानी गरिए पनि प्रभावकारी संरक्षण, व्यवस्थापन र नियमित अनुगमनको अभावका कारण संरचना पुनःजीर्ण अवस्थामा पुग्न थालेको छ।इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको सिन्धुलीगढी दरबारको उचित हेरचाह नहुँदा निर्माण भएको केही समयमै संरक्षणको चुनौती थपिएको हो ।
सिन्धुलीगढी दरबारलाई पुरानो ऐतिहासिक स्वरूप जोगाउने उद्देश्यसहित पुनःनिर्माण गरिएको भएपनि संरचना निर्माण सम्पन्न भएको केही समयमै मर्मत,सरसफाइ,सुरक्षा व्यवस्था र दीर्घकालीन संरक्षण योजनामा पर्याप्त ध्यान नदिँदा सिन्धुलीगढी दरबारको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ ।
ऐतिहासिक सम्पदा संरक्षणका लागि केवल बजेट विनियोजन र भौतिक निर्माण मात्र पर्याप्त नहुने स्थानीय जानकारहरु बताउँछन् ।उनीहरूका अनुसार निर्माणपछिको व्यवस्थापन,नियमित निगरानी र संरक्षण प्रणाली बलियो नभएसम्म यस्ता सम्पदा दीर्घकालसम्म सुरक्षित राख्न कठिन हुन्छ।सिन्धुलीगढी दरबार अहिले पर्यटकीय तथा ऐतिहासिक स्थलका रूपमा परिचित भएको भएपनि पछिल्लो समय दरबार परिसरमा अनुशासनहीन गतिविधि बढ्दै गएको स्थानीयको गुनासो छ।स्थानीयका अनुसार दरबार क्षेत्र युवाहरूको अनियन्त्रित जमघट गर्ने स्थान बन्दै गएको छ ।
स्थानीयका अनुसार दरबार परिसरमा मदिराका बोतल,चुरोटका खोल तथा अन्य फोहोर सामग्री भेटिने गरेको छ।यस्ता गतिविधिले ऐतिहासिक सम्पदाको गरिमा घटाउनुका साथै संरक्षणमा चुनौती थपेको उनीहरू बताउँछन् ।संरचना निर्माणमा करोडौँ रुपैयाँ खर्च गरिसकेपछि त्यसको सुरक्षा र व्यवस्थापनमा पनि सम्बन्धित निकायले उत्तिकै जिम्मेवारी लिनुपर्ने स्स्थानी बताउँछन् ।
सिन्धुलीगढी केवल एउटा दरबार वा भौतिक संरचना मात्र नभई नेपालको इतिहास,पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण सम्पदा हो।नेपाल–अंग्रेज युद्धको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको यस क्षेत्रले पर्यटन विकासमा समेत ठूलो सम्भावना बोकेको छ।तर सम्पदा संरक्षणका लागि आवश्यक नीति,नियमित अनुगमन र स्थानीय सहभागिता सुनिश्चित गर्न नसकिए निर्माणमा खर्चिएकोे ठूलो लगानी प्रभावहीन बन्न सक्ने विज्ञहरू बताउँछन् ।इतिहासलाई केवल बजेटमार्फत निर्माण गरिने संरचनाका रूपमा नभई पुस्तौँसम्म हस्तान्तरण गर्नुपर्ने राष्ट्रिय सम्पत्तिका रूपमा हेर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । सिन्धुलीगढी दरबारको संरक्षणले विगतको इतिहास मात्र जोगाउने नभई आगामी पुस्तालाई आफ्नो गौरवसँग जोड्ने आधार समेत तयार गर्नेछ ।