मन्दिरमा अज्ञात व्यक्तिले राखेको पेस्तोल पड्किँदा आकाश घाइते

128 Shares

सर्लाहीको मलंगवा नगरपालिका ४ ढाँका गाउँमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।घर नजिकै रहेको निर्माणाधीन मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल पड्किएर स्थानीय अन्दाजी  १५ वर्षीय आकाश राम घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार पेस्तोल पड्किँदा दाहिने हातमा गोली लागेर घाइते भएका आकाशको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेको छ । 
निर्माणाधीन मन्दिरको कुनामा रातो कपडाले बेरिएको वस्तु फेला परेपछि बालक आकाशले कपडा खोलेर हेर्न खोजेदा पेस्तोल पड्किएको प्रहरीले जनाएको छ । घटना स्थलबाट पेस्तोल एक थान, पड्किएको गोलीको खोका एक थान र पेस्तोलमै अड्किएको एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बरामद भएको हतियार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले बताए। उनका अनुसार पेस्तोल कस्ले राखेको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।चार दिन पहिला सर्लाही सदरमुकाम मलंगवाको पूर्वाधार विकास कार्यालयमा कार्यरत सव  इन्जिनियर प्रमोद कुमार यादवको अज्ञात समुहको गोली लागेर हत्या भएको थियो।
सव इन्जिनियर यादवको हत्यामा संलग्न मानिस अहिलेसम्म पक्राउ परेका छैनन्।भने यसै विचमा वेवारिसे पेस्तोल पड्किएर बालक घाईते हुनु आफैँमा दुखद मात्रै नभई जिल्लाको सुरक्षा संयन्त्र माथि प्रश्न खडा भएको स्थानीय नागरिक समाजको भनाई छ ।आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तिब्र भई रहेको समयमा यस प्रकारका घटनाहरु लगातार घट्नुले निर्वाचनलाई सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल मानिएको छ ।नेपाल भारत खुल्ला सीमा क्षेत्रका साथै नेपालमा हुन लागेको निर्वाचनलाई लक्षित गरि देशि विदेशी शक्तिहरुको चलखेल समेत  भएको हुन सक्ने स्थानीय जानकारहरु बताउँछन् । भने अर्को तिर भन्सार छलीको कारोबार गर्ने  व्यापारीहरुले प्रहरीको ध्यान मोड्न  गैर कानूनी घटना घटाएको हुन सक्ने समेत सरोकारवाला निकायहरुले आशंका गरेका छन् ।

सम्बन्धित समाचार