Close This

बागमती नगरपालिकामा हरेक वडाबाट सामाजिक सुरक्षा भक्ता विवरण सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२९ गते   ९४० पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बागमती नगरपालिकाले एनआईसी एशिया बैङ्कको कर्मैया शाखासँग समन्वय गरी ज्येष्ठ नागरिक,अशक्त,अपाङ्गता भएका व्यक्ति लगायतलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता लिन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले चालू आर्थिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक (कात्तिकदेखि पुससम्म)को सामाजिक सुरक्षा भत्ता वडा कार्यालयहरुबाट वितरण गर्न सुरु गरेको छ ।
१२ वटा वडा रहेको बागमती नगरपालिकाका वडा नं. ४, ११ र १२ का स्थानीयलाई भने पूर्व–पश्चिम लोकमार्गस्थित बैङ्कको कर्मैया शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।
उनका अनुसार त्यसबाहेक वडा नं. १, २ र ३ का स्थानीयलाई संयुक्त वडा कार्यालय ढुङ्ग्रेखोला,वडा नं. ५, ६ र ७ का स्थानीयलाई संयुक्त वडा कार्यालय राजघाट र वडा नं. ८, ९ र १० का स्थानीयलाई संयुक्त वडा कार्यालय शङ्करपुरबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने छ ।
कर्मैयामा रहेको बैङ्कमा भत्ता बुझ्नका लागि सेवाग्राहीको अत्याधिक भीड लाग्ने गरेको र टाढाका आएर घण्टौँ लाइनमा बस्नु परेको स्थानीय सेवाग्राहीले गुनासो गरेपछि नगरबासीको गुनासोलाई मध्यनजर गरी सम्वन्धित वडा कार्यालयमै वडा र बैङ्कका कर्मचारी राखेर भत्ता वितरणको व्यवस्था मिलाइएको नगर प्रमुख थापाले बताए । नगरपालिकाले आगामी माघ २९ गतेसम्म १२ वटै वडामा भत्ता वितरण गरिसक्ने गरी तालिका सार्वजनिक गरिएको र आफ्नो वडामा कुन दिन भत्ता वितरण हुन्छ ? सो बारे जनप्रतिनिधि वा कर्मचारीसँग बुझ्न सकिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट सुरक्षा व्यवस्था,यातायातको प्रवन्ध र इन्टरनेटको व्यवस्था गर्ने सहमतिमा वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न लागिएको एनआईसी एशिया बैङ्क कर्मैयाका शाखा प्रवन्धक बालक घिमिरेले बताए। उनका अनुसार वडा वडामा गएर सामाजिक सुरक्षा भक्ता वितरण गर्दा कार्यालयमा सेवाग्राहीको  चाप घट्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech