रौतहटको चन्द्रपुर नगरपालिकास्थित सन्तपूरमा आयोजना गरिएको कर्तिकेश कुँवर मेला एवम शामा चकेवा महोत्सवमा खुलेआम रुपमा जुवा खेलाउने गरिएको पाइएको छ।सन्तपुर बजार स्थित मैदानमा आयोजना गरिएको मेलामा स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा दिन दहाडै जुवा खेलाइने गरेको एक स्थानीयले बताए ।झुला,पिङ्ग,ड्राईगन,ब्रेक डान्स,नाउन लगायतका सामानहरु राखेर मनोरन्जनका लागि मेला महोत्सव आयोजना हुने गरेका भएपनि सन्तपुर मेलामा खुलेआम रुपमा जुवा खेलाउने काम भएको स्थानीयले बताए ।
जुवाको खाल नदेखे झैँ गरी मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा प्रहरीहरु पनि मस्त हुने गरेको पाइएको छ।सार्वजनिक स्थलमा गैर कानुनी काम भई रहँदा पनि प्रहरी प्रशासन मौन देखिनुले उनीहरुको समेत मिलेमतोमा जुवा खेल भएको आशंका गर्न सकिन्छ ।जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका बर्दीमा खटिएका प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेका छन्।गाउँबाट मेला हेर्न आएका सोझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकुल हारजीत गरिरहेका थिए ।
मेलामा सर्वसाधारणलाई भ्रममा पारेर पैसा लुट्ने योजना सहित यस अघिका मेला महोत्सवमा पनि जुवा खेल नभएतापनि यो वर्ष भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक राजकुमार राई विदेश भएको र प्रहरी सक्रियता फितलो भएको मौका छोपेर जुवा खेल भएको पाईएको हो ।सन्तपूरमा लागेको मेलामा लंगुर बुर्जा (डाईस) यत्रतत्र देखिएको छ।दिनभरपनि जुवा खेल हुने र साँझ परेपछि झन लंगुर बुर्जा खेलाउनेको सक्रियता बढ्दै जाने गरेको छ ।
नम्बर भएको फ्लेक्समा पैसा राखेर खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन्।त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन्।थोरै पैसा भएको ठाउँमा पारिदिन्छन या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन।यो कुरा मेला हेर्न विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन।एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन्।अन्ततःभएको सबै पैसा सकेर रित्तो फर्कन्छन्।आयोजकले सांस्कृतिक,कृषि,पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्य सहित मेला आयोजना गरेको बताएपनि जुवा खेलाएर महोत्सवबाट आर्थिक लाभ लिन केही व्यक्ति उद्धत भएको स्थानीयको आरोप छ ।
यता,मेलामा झुला,पिङ्ग,ड्राईगन,ब्रेक डान्स,नाउन लगायतका सामानहरु ल्याउने भारतिय नागरिक विजय साहले नेपाल सरकारलाई झुक्याउने गरेका समेत पाइएको छ।मेलामा झुला,पिङ्ग,ड्राईगन,ब्रेक डान्स,नाउन लगायतमा भारतबाट ल्याउने सामानहरुको नेपाल प्रवेश गरेको छ महिनाको शुलक तिर्नु पर्ने,शुल्क तिरेको छ महिना सम्मका लागि मान्य हुने र सो पछि तत्काल फिर्ता हुनु पर्ने प्रावधान भएपनि भारतिय नागरिका साहले विगत करिब पाँच वर्र्ष नेपाल सरकारलाई करछली नेपाल मै हुने मेला महोत्सवहरुमा आफ्नो व्यापार गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयहरुमा दर्ता समेत नभएको,नेपालमा व्यापार व्यावसाय गरे वापत राज्यलाई कर नतिरेको साथै बीमा समेत नभएको र टिकट वापतको कर समेत नतिरेको पाइएपछि टिकटमा समेत आर्थिक चलखेल भएको पाइएको हो।यस तर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।