Close This

सर्लाहीको गोडैता १ र इश्वरपुर ४ शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२ गते   ५०२ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिका १,बहादुरपुरलाई  शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ । उक्त वडाका ४ वर्षदेखि १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरु विद्यालय भर्ना भएको प्रमाणित गर्दै गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादवले उक्त वडालाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गर्नुभएको हो ।
सबैका लागि गुणस्तरीय शिक्षाको अवसर जुटाउन दिगो विकासको लक्ष्य सबैको लागि शिक्षा कार्यक्रम,विद्यालय क्षेत्र सुधार कार्यक्रम,विद्यालय क्षेत्र विकास कार्यक्रम र नेपाल सरकारबाट स्वीकृत नीति,निर्देशन,योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह,सहकार्य,छलफल एवम सहमतिमा गोडैता नगरपालिकाको वडा न १ बहादुरपुरमा विद्यालय जाने उमेर समूह ४ देखि १२ वर्षसम्मका बालबालिकाहरु कोही पनि विद्यालय बाहिर नरहेको भन्दै सार्वजनिक रुपमा घोषणा गरिएको नगर प्रमुख यावदले बताउनु भयो ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी र गोडैता नगरपालिकाको समन्वयमा  संचालित समुन्नति कार्यक्रम अन्तर्गत गोडैता नगरपालिका १ बहादुरपुरलाई  शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले बताउनु भयो ।
२० वटा स्थानिय निकाय रहेको सर्लाहीमा २ सय वटा वडाहरु रहेका भएपनि हाल समम जिल्लाको इश्वरपुर नगरपालिका ४ र गोडैता नगरपालिका १ ले मात्र शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरेको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका निमित्त प्रमुख सुनिल कुमार कुशबाहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech