Close This

हरिपूर्वा नगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने विवरण संकलन सम्बन्धी अभिमुखीकरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१५ गते   ४१२६ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न अभिमुखीकरण प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा स्थानीय जनप्रतिनिधि, वडा सचिव, अन्य कर्मचारी र शिक्षकहरुलाई अभीमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले राष्ट्रिय परिचय पत्रका बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै जनप्रतिनिधि, वडा सचिव, कर्मचारी र टोलीमा खटिने शिक्षकहरुलाई आ–आफ्नो भूमिकाका विषयमा जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यता तथा हरिपूर्वा नगरपालिकाका नगर प्रमुख शियाराम रायको विशिष्ठ आतिथ्यता तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी महतोको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप निर्देशक दीलिप कुमार सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक सरोज सिंह खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुर, हरिपूर्वा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारी लगातको उपस्थिति रहेको थियो ।
यही भदौ १९ गतेबाट हरिपूर्वा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम सुरु गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो । विवरण संकलनका लागि प्रत्येक वडामा कर्मचारी खटिने,कर्मचारीहरु केही साता वडाको पायक पर्ने स्थानमा बसेर विवरण भर्ने काम गर्ने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो । अहिले ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा विवरण संकलनको काम चलिरहेको छ । भने लालबन्दी नगरपालिकामा विवरण संकलनको काम सकिएको छ ।
सर्लाहीमा हालसम्म विभिन्न नगरपालिका र गाउँपालिका गरी ९ वटा स्थानिय निकायमा राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम भइसकेको छ । सरकारले निकट भविष्यमा नागरिकतालाई विस्थापित गर्दै त्यसको साट्टामा प्रत्येक नागरिकलाई नेपाली भएको पहिचान दिने र विभिन्न खाले सेवा सुविधा लिन सहज हुने गरी राष्ट्रिय परिचय पत्र व्यवस्था गर्न लागेको हो । सोही अनुसार देशभरका स्थानिय निकायहरुमा राष्ट्रिय परिचय पत्र विवरण भर्ने काम शुरु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech