Close This

करिब डेढ वर्षमा पनि खुलेन नेपाल–भारत सीमा नाका,खेतको आलीबाट ओहोरदोहोर गर्दैै स्थानिय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   २२२६ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) का कारण १५ महिनाभन्दा बढी समयदेखि बन्द रहेको सर्लाही स्थिती नेपाल–भारत सीमा नाका अझै खुल्न सकेको छैन । गएको वर्षदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले देशभर लकडाउन गरेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो । तर अहिले लकडाउन खुले पनि सीमा नाकाहरु बन्द नै रहँदा स्थानिय नागरीकहरु मारमा परेका छन् ।
 लामो समयदेखि सीमा नाकाबन्द रहँदा सीमा क्षेत्रका बासिन्दाहरु समस्यामा परेका हुन् । नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका बासिन्दाहरुले  व्यापार–व्यवसाय गर्नेदेखि नाता–सम्बन्ध कायम राख्नुका साथै दैनिक उपभोग्य सामाग्री समेत ल्याउन नपाएको गुनासोगरेका छन् ।
नेपाल सरकारले औपचारिक रुपमा सीमा नाका बन्द गरे पनि चोर बाटोबाट आवतजावतका साथै व्यापक रुपमा तस्करी मौलाएको आरोप पनि स्थानियबासीको छ । “हामीलाई दैनिक उपभोग्य सामाग्रीहरु दाल,चामल,नुनतेल ल्याउँदा सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले अनावश्यक दुःख दिनेगर्छन तर चोरबाटोको प्रयोग गरी भित्रिएका कपडा लगायतका सामानहरुबाट उहाँहरुलाई के मिलि रहेको छ थाहा छैन, ।” मलंगवाका स्थानिय बुधन साहले बताउनु भयो ।  ‘सरकारले औपचारिक रुपमा नाकाहरु बन्द गरेको छ तर सानातिना नाकाहरुबाट लुकीछिपी ओहोरदोहोर भइरहेको छ, तस्करी पनि भइरहेको छ,’ उनले भने, ‘ बोर्डरमा खटिएका सुरक्षाकर्मीहरु मौकाको फाइदा उठाउँदै  कमाउ धन्दामा लिप्त रहेका उनको आरोप छ । 
सिमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु  आमजनतालाई ओहोर दोहोरमा रोक लगाए पनि रकम लिएर चोर बाटोबाट आवतजावत गर्न तथा सामानहरु ओसारपसार गर्न दिइरहेको नाम नबताउने सर्तमा एक स्थानियबासीले बताए ।
अहिले नाका बन्द पनि छ र खुला पनि छ, जोसँग पैसा छ, उसका लागि नाका खुला छ, जोसँग पैसा छैन, उसका लागि नाका बन्द छ ,नेपाली कांग्रेसका नेता तथा सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले बताउनु भयो । सीमा नाका बन्दका कारण आम जनता भने मारमा परेका उहाँको भनाइ छ ।
नाका खुलाउनका लागि जनप्रतिनिधिहरु लगायत सीमा क्षेत्रका बासिन्दा , व्यापारी तथा नागरिक समाजले पटक पटक सरोकारवाला निकाय मार्फत सरकारलाई अनुरोध पत्र पठाइसकेका छन् । केही महिना अगाडी रिले अनसन समेत गरेका सर्लाहीबासी आफुहरुको माग सम्बोधन नभएपछि  निराश समेत भएका छन् । तर कोरोना महामारी नियन्त्रणका लागि भन्दै बन्द गरिएको नाका खोलाउन  सरकारको तर्फबाट कुनै पहल नभएको स्थानिय साहले बताएका छन् । बजार,पसल, कार्यालय, यातायात लगायत शैक्षिक संस्था समेत खुली सकेको समयमा समेत सिमानाका बन्द गर्नुको औचित्य नरहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
‘तस्करी एवम अवैध कारोबार गर्नेका लागि सीमा नाका खुला छ तर हामी जस्ताका लागि बन्द छ,’ चक्रघट्टा गाउँपालिका वडा न–८ औरहीका किसान नागेन्द्र रायले बताए । भारतीय बजारमा सामान सस्तो पाइन्छ तर मुख्य नाकाबाट भारत छिर्न नदिएका कारण हामी जस्ता साधारण जनताहरु  मारमा परेका छौँ , उनको भनाई छ ।
नेपाल–भारत  सीमावर्ती क्षेत्रका नेपाली नागरिकको भारततिर र भारतिय नागरिकको नेपालतर्फ  वैवाहिक सम्बन्ध समेत हुने र कतिपय नागरीकहरुको वारीपारी खेतवारी समेत रहेको छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ । खेतका  आली र खेतको बाटो भएर पैदल  आउजाउ गर्न त्यति रोकटोक नभए पनि सवारी साधनबाट आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध गाँस्न कठिनाइ भएको गुनासो आउने गरेका छन् ।
सिमा नाका बन्द भएको एक–डेढ वर्षको अवधीमा दुई देश बिच बैवाहिक सम्बन्ध गाँस्नेहरुको संख्या ह्वात्तै घटेको छ । नेपाल सरकारले नै दुई देश बिचको सुमधुर  सम्बन्धलाई बिगार्ने प्रयास गरिरहेको स्थानीयको आरोप छ । नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई मधेशसँग भारतको  सम्बन्ध बढी रहेको छ । तराई मधेशका छोरीचेलीको बिबाह भारतमा र भारतका छोरीचेलीको बिबाह नेपालमा हुने गरेको छ । तर नेपाल सरकारले घोषणा गरेको सिमा नाका बन्दले यस प्रकारको सम्बन्धलाई बिग्रन गएको भन्दै स्थानियमा चिन्ता पनि थपिएको छ । ५१ किलो मिटर खुल्ला सिमाना रहेको सर्लाहीमा चोरबाटो प्रयोग गरी कपडा,चिनी,गुट्का, लगायतका सामानहरु रातारात भित्रने गरेका समेत पाइएको छ ।
यता,सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सिमानाका खुलाउने विषयमा आफुले माथिल्लो निकायसंग निरन्तर छलफल गरि रहेको बताउनु भयो । नेपाल सरकारकोनिर्णय भएका कारण पनि आफुले मात्रै निर्णय गर्न नसक्ने हुँदा माथिल्लो निकायसंग निरुन्तर छलफल भई रहेको उहाँले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech