विष्णु गाउँपालिकाको ६ महिनापछि बजेट पारित

959 Shares

सर्लाहीको विष्णु गाउँपालिकाले छ महिनापछि बल्ल गाउँसभा गरेर नीति,कार्यक्रम र बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीच सहमति नहुँदा विष्णु गाउँपालिकाले गाउँसभा गर्न सकेको थिएन् ।
प्रत्येक स्थानीय तहले असारमै नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गर्नुपर्ने भएपनि जिल्लाको विष्णु गाउँपालिकामा जनप्रतिनिधिहरु वीच सहमती हुन नसक्दा छ महिना पछि गाउँ सभा भएको र नीति,कार्यक्रम र बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार विष्णु गाउँपालिकाले छ महिनापछि राजनीतिक सहमति जुटाएर बल्ल गाउँसभा सम्पन्न गरिएको हो ।
गाउँसभाले रु ५० करोड ८७ लाख ८८ हजार नौ सय ८० बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए । गाउँपालिकाको गाउँ सभा नभएका कारण बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि नै तलब खान पाएका छैनन् ।
ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब,भत्ता,कार्यक्रम,योजना सबै नियमित चल्ने बताए ।
असारदेखि नै पटक–पटक गाउँसभा गर्ने प्रयास गरेको भएपनि राजनैतिक सहमती जुट्न नसक्दा गाउँ सभा हुन नसकेको गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताए । गाउँपालिका अध्यक्ष राय यादव आफु अल्पमतमा परेका कारण गाउँसभाको बैठक नै बस्न सकेको थिएन् । 
जिल्लामा २० वटा स्थानीय तह रहेका छन् भने अब सबै स्थानीय तहले नीति,कार्यक्रम र बजेट पारित गरेका हुन । नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका रहेका जिल्लाका सबै स्थानीय तहको नीति,कार्यक्रम र बजेट पारित भई विकास निर्माणका कामहरु निरन्तर सञ्चालन भई रहेका छन् ।

सम्बन्धित समाचार