Close This

ठेकेदारको लापरवाहीका कारण कल्भर्ट निर्माण कार्य अलपत्र,स्थानिय सरकार मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२० गते   ४३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सिमाना भएर बग्ने फेदी खोलामा निर्माणाधिन अवस्थामा रहेको कल्भर्ट अलपत्र परेको छ । हरिवन नगरपालिका १ र ८ को सिमाना भएर बग्ने फेदी खोलामा निर्माणाधिन कल्भर्ट ठेकेदारले समय मै निर्माण नगरिदिँदा सोक्षेत्रका स्थानिय मारमा परेका छन् । समयमै कल्भर्ट निर्माण नहुँदा स्थानिय पैदलयात्रीहरु खोेलाको बाटो जोखिमपूर्ण रुपमा प्रयोग गर्न बाध्य भएका छन् ।
सर्लाहीको हरिवन र सिन्धुलीको हरिहरपुरगढीस्थित क्यानेश्वर जोड्ने उक्त कल्भर्ट निर्माण नहुँदा दैनिक उपभोग्य सामानहरु खरिद गर्न हाटबजार जान आउन तथा विरामीहरुलाई अस्पताल लैजान समेत समेत भएको हरिवन नगरपालिका १ बिलन्दीका सोमबहादुर वाइवाले गुनासो गर्नु भयो ।
उक्त कल्भर्ट निर्माणका लागि सर्लाही कै आरके निर्माण सेवाले रु २३ लाख ९१ हजार ९ सय ३० मा ठेक्का पाएको थियो । सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका अनुसार ठेकेदार कम्पनीले २०७७ चैत १० मै निर्माण सम्पन्न गर्ने शर्तमा २०७७ मंसिर ११  मा ठेक्का सम्झौता गरेको थियो । त्यसलगत्तै निर्माण कार्य सुरु गरेको उक्त कम्पनीले कल्भर्टको दुवैतर्फ इट्टाको पर्खाल लगाएर काम विचैमा अलपत्र छाडेको छ । 
स्थानियले निर्माण व्यवसायीका प्रतिनिधि रवीन्द्र कुमार यादवलाई निर्माण छिटो सम्पन्न गर्न आग्रह गर्दा कहिले कोरोना र कहिले वर्षातको बहाना बनाउदै पञ्छीने गरेको स्थानीयले बताएका छन् । 
यता, ठेकेदार कम्पनीले भने विभिन्न प्राविधिक कारणले कल्भर्ट निर्माणमा ढिलाइ भएको बताएको छ । काम गर्दागर्दै पछिल्लो समय वर्षात सुरु भएकाले काम रोकिएको निर्माण कम्पनीको भनाई छ । वर्षा रोकिए लगतै निर्माण पुनः सुरु गर्ने ठेकेदार कम्पनीको जनाएको छ ।
निर्माण कार्यमा ढिलाइ भएको विषयमा व्यापक गुनासो आएपछि आफूले गत वैशाख २१ मै ठेकेदार कम्पनीलाई पत्रकाटेर सचेत गराएको सडक डिभिजन कार्यलय चन्द्रपुरनिगाहपुरका प्रमुख नरेश प्रसाद केसरीले बताउनु भयो । कल्भर्ट निर्माण कार्यमा भएको ढिला सुस्तीको विषयमा स्थानीय निकाय हरिवन नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech