समाचार प्रभाव : मिल पुन : सञ्चालनका लागि सरकारद्धारा विज्ञसहित कार्यदल गठन

320 Shares

मोरङको विराटनगर उपमहानगरपालिका–१६ स्थित रहेको नेपाल कै पहिलो र ठूलो विराटनगर जुट मिल पुन : सञ्चालनमा ल्याउन नेपाल सरकारले आर्थिक,प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले उक्त जुट मिल सञ्चालनमा ल्याउनका लागि कार्यदल गठन गरेको हो ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सह–सचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना,मेसिनरी,सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन तथा निर्णयहरूको समीक्षा गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कार्यदलले पुनःसञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीति सहितको प्रतिवेदन एक महिना भित्र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने छ ।
जुट मिलको व्यवस्थापन,सञ्चालनको सम्भावना,विद्यमान समस्या तथा पुनःसञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे कमलामाई मिडिया प्रा.लिको टिमले शनिबार स्थलगत अवलोकन गरी रिपोर्टीङ्ग मार्फत आईतबार नेपाल सरकारको ध्यानाकर्षण गराएको थियोे।त्यसपछि प्रधानमन्त्री कार्यालयका सचिव वीरेन्द्र कुमार यादवका साथै अर्थ सचिव र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहित सम्बन्धित मन्त्रालयका अधिकारी सहित सरोकारवालाहरू बैठक बसी कार्यदल गठन गरेको हो ।
मिल सञ्चालनका लागि विभिन्न निकायबाट गठन भएका कार्यदलले पेस गरेका यस अघिका प्रतिवेदनका सुझाव÷सिफारिस अध्ययन गर्ने,मिलको वित्तीय,आर्थिक,प्राविधिक तथा कानुनी पक्षको विद्यमान अवस्थाको अध्ययन÷विश्लेषण गर्ने र अन्तरनिहित समस्या पहिचान गर्ने,मिल परिसरमा रहेका भवन,कारखाना लगायतका भौतिक संरचनाहरू,मेसिनरी एवम पार्टपुर्जाको विद्यमान अवस्था र तिनको उपयोगको सम्भाव्यताको गहन विश्लेषण गरी प्रयोग गर्न सकिने भवन,मेसिनरी÷उपकरणहरू तथा सञ्चालनका लागि आवश्यक हुने उपकरण ÷मेसिनरीको विवरण यकिन गर्ने र प्रयोगमा आउन सक्ने भौतिक संरचना,भवन,मेसिनरी ÷उपकरणहरूको मर्मत लागत अनुमान तयार गर्ने साथै मिलको स्वामित्वमा रहेको जग्गा लगायतको सम्पत्ति तथा दायित्व सम्बन्धी विषयको अध्ययन गर्ने र फरफारकका लागि कानुनी तथा व्यवहारिक सुझाव पेस गर्ने,मिल सञ्चालनका लागि लागत विश्लेषण सहितका सम्भावित विकल्पहरू पहिचान गर्ने र उपयुक्त विकल्प सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव यादवले बताए।उनका अनुसार मिल सञ्चालनका नीतिगत,संरचनागत तथा कानुनी सुधारका तत्कालीन र दीर्घकालीन रणनीतिहरू कार्यान्वयन योजना सहित सिफारिस गर्ने र कार्यदलले उपयुक्त ठानेका सुझाव तथा सिफारिस पेश गर्ने छलफलले निष्कर्ष निकालेको छ ।
वि.सं. १९९३ मा स्थापना भएको नेपालकै पहिलो र ठुलो मिलमा राजनीतिक प्रवेश गर्दा तथा राज्यको उदासीनताका कारण २०७१ सालदेखि पुर्ण रुपमा बन्द भएपछि अहिले भग्नावशेष अवस्थामा परिणत भएको,करिब १० हजार जना मजदुरलाई रोजगारी दिई उनीहरुका करिब ४० हजार परिवारलाई बचाउने र करिब ६० हजार मेट्रिक टन जुट उत्पादन गर्ने गरेको साथै ठेक्का लिएका विभिन्न कम्पनीहरुले मिलका विभिन्न किसिमका सामानहरु चोरी गरेका र मिलको करिब आठ बिघा जग्गा अतिक्रमण हुनुका साथै मिलका ३८ वटा स्टलहरुको भाडा व्यत्तिले लिने गरेको लगायतका सवालहरुमा कमलामाई मिडिया प्रा.लिको टिमले रिपोर्टीङ्ग गरी नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।
त्यस्तै,स्थायी र हेरालु गरि छ जना कर्मचारी कार्यरत रहेका उक्त उद्योगका सामानहरु समय समयमा चोरी भई रहने गरेको,बन्द अवस्थामा रहेको उद्योग परिसर झाडिले ढाकिएको, उद्योगको कम्पाण्ड पर्खाल भत्कीँदा चौकीदारले असुरक्षित भएर काम गरि रहनु पर्ने बाध्यता रहेको र हाल कार्यरत कर्मचारीहरुले पारिश्रमीक नपाएको सवालमा कमलामाई मिडिया प्रा.लिको टिमले रिपोर्टीङ्ग गरी नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सरकार तातेको हो ।नेपाल सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परिक्षण सुरु गरेपछि रुग्ण तथा वन्द अवस्थामा रहेका राज्यको स्वामित्वका उद्योगहरु पुनःसञ्चालनमा आउने आशा पलाएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार