Close This

सामाजिक सुरक्षा नियमावली परिमार्जनप्रति सरोकारवालाहरुको आपत्ति

पत्र पत्रिका    प्रकाशित: २०७७-२-१० गते   ३६३ पटक हेरिएको

सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन र नियमावली कार्यान्वयनमा आएपछि जुनसुकै उमेरका एकल महिलाले पाइरहेको सामाजिक सुरक्षा भत्तालाई वर्गीकरण गरिने भएको छ ।यस्तै, अतिअसहाय तथा अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि कटौती गर्न लागिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा मानवअधिकार समितिले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका तथा ६० वर्षभन्दा मुनिका एकल महिलाको भत्ता नरोक्न निर्देशन दिएको छ ।गत चैत ३ गतेबाट लागू भएको नयाँ सामाजिक सुरक्षा नियमावलीअनुसार एकल महिला र अपांगता भएकाहरुले पाउँदै आएको भत्ता कटौती गर्ने भएपछि सरोकारवालाहरुले आपत्ति जनाइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह गरेका छन् ।उक्त नियमावली कार्यान्वयनमा आएसँगै गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सरकारले सबै उमेर समूहका एकल महिलालाई मासिक दुई हजार र अपांगता भएका व्यक्तिलाई १६ सय रुपैयाँ भत्ता दिँदै आएको थियो ।यस्तो लाभ लिनेमा करिब तीन लाख २६ हजार एकल महिला र ८० हजार  अपांगता भएका व्यक्तिहरु छन् ।

तर, सरकारले कोरोना महामारीको कारण अघि सार्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिहरुको सुविधा कटौती गर्न लागेको हो ।पूर्वमहिलामन्त्री एवं समिति सदस्य थममाया थापा राज्यले एकल महिला र अपांगता भएका व्यक्तिलाई दिँदै आएको सुविधा कटौती गर्न नहुने बताउँछिन् ।

यता, राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेत ६० वर्षभन्दा मुनिका सबै एकल महिला यो सुविधाबाट वञ्चित नहुने दाबी गर्छन् ।कुनै आयस्रोत नभएका र न्यून आय भएका एकल महिलाले भत्ता पाउने तर आम्दानीको स्रोत भएकाको भत्ता कटौती गर्नेगरी ऐन परिमार्जन गर्न लागिएको उनले बताएका छन् ।

त्यस्तै, अपांगता भएका र अतिअसहायहरुको भत्ता कटौती नगरिएको दाबी पनि बस्नेतले गरेका छन् ।कोरोना संक्रमण र ‘लकडाउन’ले समाजका हरेक तह र तप्कालाई असर गरेको छ । सामाजिक सुरक्षा भत्ताको दायरा बढाउनुपर्ने अवस्थामा कटौती गर्नुलाई उचित मान्न सकिँदैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech