Close This

मलंगवा ७ को बडकी पोखरीको सौन्दर्यकरण निर्माणकार्य पुनःसुरु हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-४ गते   ८२ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका ७ मुसैली स्थित बौधीदेवी माई नजिक रहेको बडकी पोखरीको सौन्दर्यकरण तथा छठ घाटको निर्माणकार्य पुनःसुरु हुने भएको छ ।ठेकेदार कम्पनी ,जनप्रतिनिधि तथा स्थानीयबासीहरु बीचको सहमति भएपछि विभिन्न कारणहरुले गर्दा  निर्माण कार्य रोकिएको पोखरीको निर्माण कार्य पुन शुरु हुने भएको हो ।
     आन्तरिक पर्यटनलाई बढावा दिन मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुसैलीको बौधीदेवी जनता मा.वि को अधिनमा रहेको करिब १० बिगा क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई  सौन्दर्यकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले २०७७÷०७८ मै काम सम्पन्न गर्ने गरि करिब रु ६ करोड १२ लाख ९३ हजार मा आरजे कमल (जेभी) जनकपुरले ठेक्का सकारेको थियो। तर विभिन्न कारणहरुले गर्दा काम रोकिएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्ने समय बितिसकेपनि ठेकेदार कम्पनी आरजे कमल (जेभी)ले निर्माण कार्यमा ढिलासुस्ती गर्नुका साथै काममा हेलचक्राइ तथा  कमसल सामाग्रीहरुको  प्रयोग गरेर गुणस्तरहीन काम गरेको  स्थानियले आरोप लगाएका छन् ।
 निर्माण कार्यमा ढिलासुस्ती गर्नुका साथै काममा हेलचक्राइ तथा  कमसल सामाग्रीहरुको  प्रयोग गरेर गुणस्तरहीन काम गरेको भन्दै स्थानियले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने माग गरेका छन् । गत वर्षको असोज ७ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पोखरी निर्माण कार्यको शिलान्यास गर्नु भएको थियो । सिलान्यास गरिएकोतीन महिना पछि काम  शुरु गरेको ठेकेदार कम्पनीले गतचैत्रमा बिचमै काम रोकेर पोखरी सौन्दर्यकरण तथा छठघाटको निर्माण कार्यलाई  अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क बिहिन भएको थियो । 
ठेक्का सम्झौता भइ काम सुरु भएको अवधीमा  बनाइएको  पर्खाल, पोखरीको किनारमा घाट बनाउनका लागि गाडिएको फलामे छड सबै भत्किएको मलंगवा नगरपालिका ७ का वडा अध्यक्ष प्रमोद कुमार यादवले बताउनु भयो । उहाँका अनुसार पोखरी विद्यालयको अधिनमा रहेकोले माछापालनका लागि लगाएको ठेक्काबाट   विद्यालयले मासिक करिब रु २ लाख आम्दानी गर्दै आएको तर काम रोकिएर लथालिङ्ग भएपछि  विद्यालयको आम्दानीको मुख्य श्रोत पनि बन्द भएको छ  ।
उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजा पर्व मनाउँदै आएको तर सौन्दर्यकरणको क्रममा  पोखरीमा खाल्डा खुल्डी गरि बेवारिसे अवस्थामा छाडिएकाले  यस वर्षको छठ पर्व  मनाउने  वातावरण नरहेको स्थानीयले गुनासो गरेका छन्  । 
उता, विद्यालयले पहिलाकै ठेक्का नतोडेका कारण आफुहरुलाई काम गर्न समस्या भएको र वैशाखबाट काम शुरु गरेको साथै वर्षा शुरु भएपछि काम गर्न नपाएको आरजे कमल(जेभि)कम्पनीका ठेकेदार खुसीलाल ठाकुरले बताउनु भयो । उहाँका अनुसार करिब रु २ करोडको काम सकिएको भएपनि अझैँ करिब रु १ करोड ५० लाख भुक्तानी बाँकी रहेको उहाँको भनाई छ  । त्यो भुक्तानी नभएका कारण पनि काम गर्न नपाएको बताउनु भयो । साथै डिपिआर निर्माण नभई आफुलाई काम गर्न लगाएको र अहिले कम्पाउण्डवालमा समस्या आएको ठाकुरले बताउनु भयो । 
स्थानिय निकाय र प्रदेश सरकारले काम गर्न जोड दिएको तर हालसम्म पनि डिपिआर नगरीदिँदा आफु मारमा परेको निर्माण कम्पनीको ठेकेदार ठाकुरले बताउनु भयो । पोखरी किनारमा बनाएको पर्खाल छेउमा रहेको जग्गाका मालिकले माटो भर्न नदिएपछि एकतर्फी  लोड परेर पर्खाल भत्किएको  ठेकेदार कम्पनीको भनाई छ  ।
पोखरीको वरीपरी २÷२ मिटर बाटो निर्माण गर्नका लागि छोडेर पोखरीको काम गर्ने सहमती भएपनि स्थानियले अवरोध गरेपछि पोखरी निर्माण कार्य अलपत्र परेको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो । उहाँका अनुसार  स्थानिय जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर ठेकेदारलाई काम गर्न समस्या भएको बताउनु भयो । 
स्थानीयहरु बीचको आन्तरिक विवाद शुरु भएपछि ठेकेदारले विवाद समाधान नभएसम्म  काम अगाडी नबढाउने बताएर र काम रोकेको थियो । साथै जिल्लाका केही मिडियाहरुले आफुलाई बद्नाम गराउने गरी ठेकेदार फरार भएको भनी समाचार सम्प्रेषण गरेका कारण भन्दै ठेकेदारले आपती समते जनाउनु भयो । ठेकेदार कम्पनी र स्थानिय निकाय विच केही विषयमा सहमती भएको र असोज ४ गते(आज)देखि पोखरीकोसौन्दर्य करणको काम शुरु गर्ने ठेकेदार ठाकुरले बताउनु भयो ।  ठेकेदार कम्पनीले प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग गरेको सम्झौताको समय  २०७८ साल पुस ६ गते सकिंदै छ । तर हाल सम्म करिब ३० प्रतिशत मात्र काम सकिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech