Close This

सशस्त्र प्रहरीद्वारा ९५ बोतल लागूऔषध नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-९ गते   ४२९ पटक हेरिएको

सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीले मंगलबार लागूऔषधको रुपमा प्रयोग हुने ९५ बोतल वार्लेक्स नष्ट पारेको छ ।गण परिसरमा सय मिलिलिटरका ९५ बोतलको बिर्को खोलेर वार्लेक्स नामक औषधीको झोल नष्ट गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, कविलासी नगरपालिकाका जनप्रतिनिधि लगायतको उपस्थितीमा उक्त लागूऔषध नष्ट गरिएको हो ।

दुई देशको लकडाउनका बीच भारतबाट नेपाल भित्र्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले गत चैत २९ गते उक्त लागूऔषध बरामद् गरेको थियो । मलंगवा नगरपालिका–१ भेडियाही स्थित भारतीय नाकाबाट नेपालतर्फ गहुँको बोरा भित्र लुकाएर एक युवाले उक्त लागूऔषध भित्र्याउन खोज्दा  सशस्त्र प्रहरी नायव निरिक्षक कृष्ण अधिकारी नेतृत्वको टोलीले उक्त लागु औषध बरामद गरेकोथियो। भने युवा बोरा फालेर भारततर्फ भागेका थिए । बोरा खोलेर हेर्दा गहुँ भित्र ९५ बोतल वार्लेक्स नामक औषधी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै केही दिनअघि कविलासी नगरपालिका–२ पिपरियामा पनि ईलाका प्रहरी कार्यालय हरिपुुरको टोलीले तरकारीको बोरा भित्र लागूऔषधको रुपमा प्रयोग हुने ४० बोतल कोरेक्स बरामद् गरेको थियो । किसानलाई केही खुकुलो गर्न थालिएपछि कृषकको भेषमा लागूऔषध कारोबारी सकृय भएको प्रहरीको अनुमान छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech