विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिएपछि त्यसलाई व्यावस्थापन गर्न भन्दै जिल्ला अस्पताल मलंगवा,सर्लाहीले १७ वटा एचडियू बेड तयार पारेको छ ।
अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड छुट्याएर राखिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले जानकारी दिनु भयो । अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० वटा अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताउनु भयो ।
अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । सर्लाहीमा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना संक्रमित भएका छन् । उनीहरु सबै होम आइसोलेसन मै छन् ।
मलङ्गवा नगरपालिकाका नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ,राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डा.चन्दन झा समेत कोरोना सङ्क्रमित भइ आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल मलंगवामा पीसीआर ल्याब पुनः सञ्चालनमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।
तर लक्षण देखिएका बिरामीहरुले कोरोना संक्रमण परीक्षणमा बेवास्ता गरेकाले नियमित रुपमा ल्याब सञ्चालन गर्न समस्या रहेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता र सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरवाही गर्नेलाई कोरोना संक्रमण फैलन मद्धत पुगिरहेको अस्पतालका प्रमुख डा. झाले बताउनु भयो ।
भारतसंग खुल्ला सिमाना भएका कारण सिमानाकाबाट आउने जाने मानिसहरुको भिडभाड बढेको र स्वास्थ्य मापदण्डहरुको पालना पनि नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना संक्रमण बढेको जानकारहरुले बताएका छन् । जिल्लाका हाटबजारहरुमा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना संक्रमण दर बढेको जानकारहरुको भनाई छ ।