Close This

तत्काली जिल्ला इन्चार्ज स्व.वाग्लेको श्रद्दाञ्जली दिवस मनाइयो,अर्धकदको शालीक र पार्क चाँडै निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-२१ गते   १६३० पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज डाचाराज वाग्लेको प्रथम वार्षिक स्मृति दिवस आज(शुक्रबार)मनाईएको छ । स्व.वाग्लेको मृत्यु भएको एक वर्ष पुगेको दिन पारेर बरहथवा नगरपालिका ९, मूर्तिया हजारविगाह चोकमा शुक्रबार(आज) प्रथम श्रद्दाञ्जली दिवस मनाइएको हो ।
 स्व.वाग्लेको शालिक निर्माण भइरहेको स्थल नजिकै माओवादी केन्द्र बरहथवा नगर कमिटीको आयोजनामा श्रद्दाञ्जली दिवस मनाइएको माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । माओवादी केन्द्र सर्लाहीका संयोजक बुढाथोकीका अनुसार स्व. वाग्लेको अर्धकद शालीक र पार्क निर्माणको काम चाँडै नैशुरु हुने छ । साथै  स्व. वाग्लेले  देखाएको बाटोमा दृढता पुर्वक लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । 
पार्टीको बरहथवा नगर कमिटीका अध्यक्ष सुमन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला संयोजक बुढाथोकी, संविधान सभा सदस्य निसा साह, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, स्व.वाग्लेकी धर्म पत्नी सरस्वती मिश्र(वाग्ले), हरिवन हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्त,नेताहरु मोहनलाल श्रेष्ठ, इन्द्र पाठक लगायतले स्व. वाग्लेले पुर्याएको योगदानको चर्चा गरेका माओवादी केन्द्र हरिवन नगर कमिटिका सह सचिव विवेक मैनालीले जानकारी दिनु भयो । स्व.वाग्लेलाई शहीद घोषणा गर्न माग गर्दै माओवादी केन्द्र सर्लाहीका नेताहरुले माघ १९ गते पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटी ज्ञापन पत्र बुझाएका थिए ।
२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको एक कार्यक्रमलाई सम्बोधन गरि माघ २२ गतेको आम हड्तालको तयारीका लागि छलफल गर्न आउने क्रममा  नयाँरोड बरहथवा सडकखण्ड अन्र्तगत मुर्तिया जंगलमा रहस्यमय दुर्घटनामा वाग्लेको ज्यान गएको थियो । 
स्व.नेता वाग्ले जिल्लाका मिटर व्याजीहरुको विरुद्ध, केपी ओलीको प्रतिगामी कदमका विरुद्ध,जिल्लाका गरीब निमुखा र विपन्नहरुको पक्षमा विगत लामो समयदेखि संघर्षरत रहनु भएको थियो । पार्टीले उक्त रहस्यमय दुर्घटनाको छानविन गरि सत्य,तथ्य,पार्टी र जनतालाई जानकारी गराउन भन्दै प्रहरी समक्ष आग्रह गरि रहेको छ ।
केपी सरकारको प्रतिगमनको विरुद्ध,जिल्लाका मिटर व्याजीहरुको विरुद्ध अभियान चलाई रहेको समयमा भएको रहस्यमय दुर्घटनालाई पार्टीले विशेष चासोका साथ हेरेको माओवादी केन्द्र सर्लाहीका संयोजक बुढाथोकीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech