नेकपा(एमाले)ईश्वरपुर नगर कमिटीको अध्यक्षमा ध्वजमान मोक्तान विजयी भएका छन् ।प्रतिस्पर्धी मेन कुमार गौतमलाई १४ मतले पराजित गर्दै मोक्तान तीन वर्षे कार्यकालका लागि एमाले ईश्वरपुर नगर कमिटीको अध्यक्षमा चयन भएका हुन्।अध्यक्षमा विजयी मोक्तानले एक सय ६० मत प्राप्त गर्दा गौतमको पक्षमा १ सय ४६ मत पाएका अध्यक्ष मण्डलका अध्यक्ष मनोज कुमार देवकोटाले बताए ।

एमाले ईश्वरपुरको पाँच जना पदाधिकारी चयन गर्न भएको मतदानमा पाँचै जना मोक्तानकै प्यानलका उम्मेदवार विजयी भएको हुन।उपाध्यक्षमा गणेश कार्की एक सय ५६ मत ल्याई बिजयी हुँदा उनका प्रतिस्पर्धी सविता चौधरीले एक सय ४२ मत प्राप्त गरेकी छन्।त्यसैगरी सचिवमा श्याम महतो एक सय ६३ मत प्राप्त गरी निर्वाचित हुँदा महतोका प्रतिस्पर्धी बालकृष्ण दर्लामीले एक सय ३४ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक कपिलमुनि पोखरेलले जानकारी दिए ।

त्यस्तै,उपसचिव महिलामा रासवती देवी एक सय ६१ र उपसचिव खुल्लामा खेमबहादुर बुढाथोकी एक सय ५९ मत प्राप्त गरी बिजयी भएका छन्।रासवतीकी प्रतिस्पर्धी सुशीला पाण्डेले एक सय ४० र खेम बहादुरका प्रतिस्पर्धी विजय महतोले एक सय ३६ मत प्राप्त गरेका छन् ।एमाले ईश्वरपुरको शनिबार उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो।निर्वाचनमा इश्वरपुर नगरपालिकाका तीन सय २१ जना प्रतिनिधिमध्ये ती सय १५ जनाले मतदान गरेका थिए ।६५ सदस्यीय नगर कमिटीमा पाँच जना पदाधिकारी मतदानबाट चयन गरिए पनि अन्य सदस्य इश्वरपुर नगरपालिकाका १५ वटै वडाबाट सहमतीको आधारमा चयन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।