सर्लाहीको बागमती नगरपालिका २ बाट सशस्त्र प्रहरीले दूध बाेक्ने ट्याँकर भित्र लुकाई छिपाई भन्सार छलेर ल्याँउदै गरेकाे अवस्थामा रासायनिक मल बरामद् गरेकाे छ । बागमती नगरपालिका २ स्थित बरहथवा नयाँरोड सडक खण्डमा सशस्त्र प्रहरीले दूध बाेक्ने ट्याँकरबाट रासायनिक मल बरामद् गरेकाे हाे ।
बरहथवाबाट नयाँराेड तर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकरबाट विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको सशस्त्र प्रहरीको टोलीले बागमती नगरपालिका–२ बाट दुध बोक्ने ट्यांकर भित्रको एउटा डिब्बामा २५ बोरा अर्थात १२ क्वुन्टल ५० किलाे यूरिया मल बरामद् गरेकाे सशस्त्र प्रहरी बल नं १० हे. क्वा.गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिनुभयाे ।
उहाँका अनुसार सशस्त्र प्रहरी बल धराहरा बेस क्याम्पका वेश पति सशस्त्र प्रहरी निरिक्षक याेग बहादुर थापाकाे नेतृत्वमा खटिएको सशस्त्र प्रहरीकाे टाेलीले तीनवटा डिब्बा मध्ये बीचको डिब्बा भित्र २५ बोरा मल फेला पारेकाे हाे।
ट्यांकरसँगै चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रनाथ नगरपालिका ३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको नेपाल डेरी प्रालिको ट्यांकर,रासायनिक मल र चालक तथा सहचालकलाई आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवा बुझाईने सशस्त्र प्रहरी उपरीक्षक खनियाँले जानकारी दिनुभयाे । उहाँका अनुसार बरामद् गरिएको मल र सवारीसाधन गरि करिब रु २० लाख २५ हजार बराबरकाे रहेकाे छ ।