Close This

कांग्रेसको तर्फबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता गर्न केन्द्रीय समितिको दवाव

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२० गते   १३५४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न दोस्रो परिपत्र भएको छ । नेपाली कांग्रेसको तर्फबाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदका लागि कांग्रेसको तर्फबाट बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता गर्न कांग्रेस केन्द्रीय समितिले दोस्रोपरिपत्र गरेको हो ।
 गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्न आफ्नो उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस केन्द्रीय समितिले दोस्रो पत्र पठाएको छ । बैशाख १६ गते  केन्द्रीय समितिले मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीलाई अधिकारीको उम्मेदवारी फिर्ता गरि सकेको र उम्मेदवारको नामावलीबाट अधिकारीको नाम हटाउन परिपत्र गरेको थियो । तर लालबन्दीका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले निर्धारित समय भन्दा पछि आएको परिपत्र मान्य नहुने भन्दै नामावलीबाट नाम नहटाएपछि नेपाली कांग्रेस केन्द्रीय समितिले बैशाख १९ गते फेरी जिल्ला कार्य समिति सर्लाहीलाई गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिन परिपत्र गरेको हो ।
परिपत्रमा बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनमा स्थानिय अवस्था र आवश्यकता बमोजिम सरकारमा सहभागी पाँच दलीय गठबन्धनका विचमा चुनावी तालमेल गर्ने निर्णय भएबमोजिम जिल्ला कार्य समितिले केन्द्रको निर्देशन अनुसार काम गर्न गराउन उल्लेख गरिएको छ ।संविधान विरोधी,सर्वसत्तावादी र निरंकुश प्रवृतिका विरुद्ध लोकतान्त्रीक र परिवर्तनकारी शक्तिहरुका विचमा स्थानिय निकायको निर्वाचनमा चुनावी तालमेल गरी गठबन्धनमा रहेका दलहरुका वचिमा सिट बाँडफाँड गरि गठबन्धनका उम्मेदवारहरुलाई अन्य दलहरुले पनि सर्मथन गर्ने केन्द्रमा निर्णय भएकाले सोही अनुसार गर्न परिपत्र गरिएको नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्या समितिको परिपत्रमा आफ्नो उम्मेदवारी फिर्ता गरि नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत साजवादी)को तर्फबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार  प्रह्लाद कुमार बुढाथोकीलाई सहयोग गर्न आग्रह गरिएको छ ।
स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा २३(५) बमोजिम कांग्रेसको तर्फबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता गर्न बैशाख १६ गते  केन्द्रीय समितिले मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीलाई निर्धारित समयमै परिपत्र गरिएको भएपनि अहिले सम्म कांग्रेस उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता नगरेको भन्ने बुझिएको हुँदा पार्टीको जिल्ला कार्य समिति,सम्बन्धीत क्षेत्रीय काय समिति,नगर कार्य समिति र मातहतका सबै पार्टी निकायका साथै पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुलाई नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत साजवादी)को तर्फबाट लालबन्दी नगर प्रमुख पदका उम्मेदवार बुढाथोकीलाई सहयोग गरि अत्याधिक बहुमतले विजयी गराउन परिपत्रमा उल्लेख गरिएको छ ।
के थियो बैशाख १६ को परिपत्रमा ?


पार्टी सभापति एवम प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षरित परिपत्रमा‘वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता गराएका अधिकारीकाको उम्मेदवारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३(५) बमोजिम फिर्ता लिइएको छ । तसर्थ निजको उम्मेदवारी सूचीबाट हटाई दिनु हुन अनुरोध गरिन्छ ।’भनि बैशाख १६ मा परिपत्र भएको थियो ।
तर, निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले भने अधिकारीको उम्मेदवारी फिर्ता नभएको जनाएकोे छ। लालबन्दीका निर्वाचन अधिकृत उपन्यायधिवक्ता विनोदलाल श्रेष्ठले नगर प्रमुख पदका उम्मेदवार अधिकारीको उम्मेदवारी फिर्ता नभएको बताउनुभयो । ‘उहाँको उम्मेदवारी फिर्ता भएको सम्बन्धी पत्र ढिलो गरी प्राप्त भएकोले उहाँको नाम अन्तिम नामावलीमा प्रकाशन भई सकेको छ।’ निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो ।‘निर्वाचन कार्यतालिका अनुसार बैशाख १६ गते बेलुका ५ देखि ६ बजे भित्र हामीले अन्तिम नामावली प्रकाशन गर्नु पर्ने हुन्छ, सो अनुसार हामीले अन्तिम नामावली प्रकाशन गरि सकेका थियौँ जसका कारण उहाँको उम्मेदवारी अन्तीम नामावलीमा प्रकाशन गरियो’ उहाँले बताउनु भयो । उहाँले पत्र ढिलो गरी प्राप्त भएकोले अधिकारीको उम्मेदवारी फिर्ता भएको नमानिने  बताउनु भयो ।
अधिकारीको उम्मेदवारी फिर्ता लिन जारी गरिएको परिपत्र र दोस्रो पत्र समेत अहिले  अहिले सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। भनेनेपाली कांग्रेस सर्लाहीले यसलाई गतल परिपत्र भनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताएको छ ।नेपाली कांग्रेस लाललबन्दी नगर कार्य समितिका निर्वतमान सभापति प्रशान्त आर्चायले पत्र आधिकारिक नभएको र गलत हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । तर ‘पत्र हेरेपछि मैले केन्द्रीय कार्यालयमै फोन गरेर बुझ्दा त्यो पत्र आधिकारिक भएको जानकारी पाएँ,’ नेपाली कांग्रेस सर्लाहीका उपसभापति नबीन अधिकारीले बताउनु भयो । यता अधिकारीको उम्मेदवारी फिर्ताको विषयलाई लिएर कांग्रेस कार्यकर्ताले लालबन्दीमा निर्वाचन अधिकृतको कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech