सर्लाहीमा निर्वाचन सुरक्षार्थ नेपाली सेनाका गस्ती सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२४ गते   १८१ पटक हेरिएको

बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि नेपाली सेना पनि गस्तीमा निस्कन सुरु गरेको छ । नेपाल सरकारले स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि शान्ती सुरक्षाका लागि भन्दै नेपाली सेना पनि परिचालन गर्ने निर्णय गरेको थियो ।

जस अनुसार नेपाली सेनाले सर्लाहीका सडक तथा बजारमा गस्ती बढाएको हो । जिल्लाका अन्य सुरक्षा निकाय झैँ सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका २ नवलपुर पाँचकुमारीमा भैरवी दल गणका गणपति एवम प्रमुख सेनानी अभिषेक कार्कीले बताउनु भयो । उहाँका अनुसार निर्वाचनमा मतदान स्थलको सुरक्षा लगायत समग्र सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरीले पहिलो, सशस्त्र प्रहरीले दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने निर्णय भए बमोजिम सेना गस्तीमा निस्केको हो ।

देशभरमै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको जिल्लामा ५ सय ९९ वटा मतदानस्थल रहेका छन् । जस अन्तर्गत १ सय ३ वटा मतदानस्थललाई सुरक्षाका हिसाबले अति संवेदनशील मतदानस्थलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार ती मतदानस्थलमा २ सय ५ मतदान केन्द्र रहेका छन् । यस्तै, जिल्लामा १ सय ८४ वटा मतदानस्थल संवेदनशील छन् । संवेदनशील रहेका १ सय ८४ वटा मतदानस्थलमा ३ सय ३९ वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।

सुरक्षा निकायले जिल्लाको ३१ वटा मतदानस्थललाई भने सामान्य सूचीमा राखेको छ । ती ३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा नवलपुरस्थित पाँचकुमारीमा प्रमुख सेनानी कार्कीको कमाण्डमा सेनाको गण परिचालन गरिएको छ भने बागमतीको कर्मैया र जिल्ला सदरमुकाम मलंगवामा पनि सेनानी(मेजर) को कमाण्डमा नेपाली सेना परिचालन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech