सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट नगर प्रमुख पदका उम्मेदवार वासुदेव अधिकारीले अग्रता कायमै राख्नु भएको छ ।
मंगलबार बेलुका ६ बजेसम्मको मतपरिणामअनुसार अधिकारीले ४ हजार ७ सय ५६ मत ल्याउनु भएको छ । भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गोविन्द महतले ३ हजार २ सय २८ मत पाएका छन्। लालबन्दीमा नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)को गठबन्धन तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रह्लाद कुमार बुढाथोकी ३ हजार ७ सय ४७ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ ।
यस्तै उप प्रमुख तर्फ नेपाली कांग्रेसको तर्फबाट कल्पना पाख्रिनले ४ हजार ४ सय ८ मत ल्याउँदा नेकपा एमालेकी सन्सरी माया थिङले ३ हजार ४ सय ९ मत ल्याएकी छन्। यहाँ गठबन्धनबाट समाजवादीका उम्मेदवार गोविन्द प्रसाद अधिकारीले मात्र ८ सय ८७ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता गराउन पटक पटक दबाब दिएका भए पनि लालबन्दी कांग्रेसले अटेर गरेकाे थियाे।
निर्वाचन अधिकृत कार्यालय सर्लाहीलाई सभापति एवम प्रधानमन्त्री देउवाको हस्ताक्षर भएको पत्रमा अधिकारीको उम्मेदवारी रद्द गर्न भनिएको थियो। तर उक्त पत्रलाई लिएर कांग्रेसका कार्यकर्ताहरूले विरोध जनाएपछि लालबन्दीमा उम्मेदवारी कायमै रहेकाे थियाे ।
कांग्रेसबाट नगर प्रमुखमा अधिकारीकाे उम्मेदवारी फिर्ता नभएपछि लालबन्दीमा कांग्रेसबाहेकको गठबन्धन बनेको थियो।
लालबन्दीमा २०७४ सालको स्थानीय निकायकाे निर्वाचनमा नेकपा एमालेले जितेको थियो। पाँच वर्ष कार्यकाल चलाएका मानबहादुर खड्का फेरि पनि उम्मेदवार हुने चर्चाबीच महतले टिकट पाउन सफल भएका थिए।
एमालेबाट नगर प्रमुख पदको टिकट पाएका महत यसअघि नेपाल मजदुर किसान पार्टीका स्थानीय नेता थिए। राजनीतिमा खासै सक्रिय नभएका उनी पछि नेकपा(माओवादी केन्द्र)समेत प्रवेश गरेका थिए। स्थानीयस्तरमा जग्गा व्यवसायीकाे रुपमा चिनिएका महतलाई एमालेले नगर प्रमुख पदको टिकट थमाएको थियो ।