दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दी नगरपालिका ११ र १३ जोड्ने बाहुनी खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लालबन्दी नगरपालिका ११ र १३ को सिमाना बाहुनी खोलामा साना सवारी साधनहरु आवत जावत गर्न मिल्ने खालको झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
स्थानीय पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको झोलुङ्गे पुल महाशाखाको रु ९० लाखको लागतमा लालबन्दी नगरपालिका ११ र १३ जोड्ने बाहुनी खोलामा झोलुङ्गे पुल निर्माणका लागि सिलान्यास गरिएको लालबन्दी नगरपालिका १३ का निवर्तमान वडा सदस्य एवम स्थानीय समाजसेवी युवा मोहन राउतले जानकारी दिए । उनका अनुसार बाहुनी खोलामा हिउँदको समयमा सवारी साधनहरुका साथै मानिसहरु आवत जावत गर्न सकिने भएपनि वर्षायाममा आवत जावतमा निकै समस्या रहेको थियो ।
जसलाई मध्य नजर गरि निवर्तमान मन्त्री शम्भुलाल श्रेष्ठको पहलमा स्थानीय पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको झोलुङ्गे पुल महाशाखाको रु ९० लाख र १० प्रतिशत जनश्रमदानमा एकसय १९ मिटर लामो झोलुङ्गे पुल निर्माणका बुधबार सिलान्यास भएको हो ।
स्थानीय उपभोक्ता समिति मार्फत निर्माण हुने झोलुङ्गे पुल चालु आर्थिक वर्षको असारमसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी बुधबार निवर्तमान मन्त्री श्रेष्ठ,लालबन्दी नगरपालिका ११ का वडा अध्यक्ष दिपक लामा र लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिव कृष्ण वैद्यले संयुक्त रुपमा सिलान्यास गरेका लालबन्दीका युवा नेता भक्त वि.कले जानकारी दिए । उनका अनुसार बाहुनी खोलामा पक्की पुल निर्माणका लागि पटक पटक रातो किताबमा योजना परेको भएपनि हाल सम्म पनि पुल निर्माण हुन नसकि रहेको अवस्थामा निवर्तमान मन्त्री श्रेष्ठको पहलमा झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
बाहुनी खोलमा झोलुङ्गे पुल निर्माण भएपछि लालबन्दी नगरपालिका १२ र १३ बासीलाई लालबन्दी आउन जान निकै सहज हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । भने लालबन्दी नगरपालिका १४ का स्थानीय वर्षायाममा लालबन्दीसंग सम्बन्ध विच्छेदभएर बस्न बाध्य भएका छन् ।