मलंगवाका दादुरा प्रभावित क्षेत्रमा खोप लगाउन सुरु

243 Shares

सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रमा सात जना बालबालिकाहरुमा दादुरा देखिएपछि मलंगवा नगरपालिकाका विभिन्न वडाहरुका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।मलंगवा नगरपालिका ३ स्थित मुस्लिम बस्तीमा दादुरा सङ्क्रमण फैलिएपछि मलंगवा नगरपालिका २,३,४,८,९ र १० मा विशेष खोप कार्यक्रम सुरु गरिएको जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले बताए।उनका अनुसार सोही क्रममा मलंगवा नगरपालिका ३ मा २३ जनामा दादुरा रोग देखा परेको छ।ल्याब परीक्षण गर्दा सात जनामा दादुराको सङ्क्रमण पुष्टी भएको भएपनि १६ जनामा सङ्क्रमितकै झैँ लक्षण देखा परेको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक विष्णुकान्त साहले बताए ।उनका अनुसार विश्व स्वास्थ्य संगठन,यूनिसेफ,मधेश प्रदेश जनस्वास्थ्य निर्देशनालय,जन स्वास्थ्य कार्यालय र मलंगवा नगरपालिकालगायतका निकायले समन्वय गरी सोमबार बिहानैदेखि विशेष खोप कार्यक्रम सुरु गरिएको हो ।
माघ १६ गतेसम्म मलंगवा नगरपालिकाका छ वटा वडाका करिव आठ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।विभिन्न निकायबाट प्राविधिक सहयोग लिएर मलंगवा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले छ वटा वडाका विद्यालय र मदरसामा पुगेर खोप लगाउन सुरु गरेको हो ।स्वास्थ्य कार्यालयसँग मौज्दात रहेको खोप नै बालबालिकाहरुलाई लगाउन लागिएको हो ।
यसअघि दादुरा–रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि अहिले विशेष खोप कार्यक्रमको बेला खोप लगाइने स्वास्थ्य शाखा संयोजक साहले बताए।नेपालमा उन्मुलन भइसकेको घोषणा गरिएको दादुरा देखा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्येक निकायले चासो देखाएर मलंगवा नगरपालिकामा विशेष खोप कार्यक्रम सञ्चालन गरेको मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री जङ्गीलाल रायले बताए।उनले विशेष खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सम्वद्ध स्वास्थ्यकर्मीलाई विशेष निर्देशन पनि दिएका छन् । 

सम्बन्धित समाचार