सिन्धुलीको सुनकोशी गाउँपालिकाका जनप्रतिनिधि र शिक्षकहरूले शिक्षा तथा खेलकुद खर्चका लागि छुट्याइएको बजेटबाट कागबेनीमा श्राद्ध गर्दै मुक्तिनाथ र अपर मुस्ताङ भ्रमण गरेर फर्किएका पाइएको छ।सुनकोशी गाउँपालिका–१ ले शिक्षा तथा खेलकुद शीर्षकमा छुट्याइएको रु चार लाख बजेटबाट उक्त भ्रमण सम्पन्न भएको पाइएको हो ।
सुनकोशी गाउँपालिका–१ ले छुट्याएको बजेट शीर्षकमा अन्य वडाका जनप्रतिनिधि र कर्मचारीसमेत पहुँचका आधारमा भ्रमणमा सहभागी भएका पाइएको छ।भ्रमणमा सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल),उपाध्यक्ष कपिलकुमार कोइराला,सुनकोशी गाउँपालिका–२ का अध्यक्ष जीवन बुर्जा र उनकी श्रीमती, सुनकोशी गाउँपालिका–६ का अध्यक्ष महेन्द्र थापा,सुनकोशी गाउँपालिकाका कानुनी सल्लाहकार चिरञ्जीवी दाहाल,गणेश मावि मझुवाका प्र.अ.माधव भण्डारी र सुनकोशी शिक्षक महासंघका अध्यक्ष बचु कोइरालालगायत सहभागी भएका पाइएको हो।वडाले शिक्षा तथा खेलकुद शिर्षकमा छुट्याएको बजेटबाट विषय भन्दा बाहिरि भ्रमण गरेर रकम सकाउनुले नीतिगत भ्रष्टाचारमा सुनकोशी गाउँपालिका अगाडि रहेको पुष्टि गर्छ ।
सुनकोशीका जनप्रतिनिधि र कर्मचारीहरु सहभागी भ्रमणमा एउटा बस र गाउँपालिकाका दुईवटा सवारीसाधन समेत प्रयोग गरिएको पाइएको छ।शिक्षा र खेलकुदसँग प्रत्यक्ष सम्बन्ध नराख्ने गतिविधिमा सार्वजनिक बजेट खर्च गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।उनीहरुका अनुसार स्थानीय तहमा सार्वजनिक स्रोतको उपयोग पारदर्शी र उद्देश्यअनुकूल हुनुपर्ने माग उठिरहेका बेला शिक्षा तथा खेलकुद शीर्षकको बजेट जनप्रतिनिधिहरु तथा कर्मचारीहरुका लागि धार्मिक तथा भ्रमण गतिविधिमा प्रयोग गरिएको घटनाले वित्तीय अनुशासन र उत्तरदायित्वमाथि पुनः बहस सिर्जना गरेको छ ।
विद्यालयका शिक्षकलाई शैक्षिक अवलोकन भ्रमण गराउने हो भने मुस्ताङ पुगेर शैक्षिक भ्रमण हुँदैन।शिक्षामा अब्बल बनिसकेका सामुदायिक विद्यालयहरू सिन्धुलीमाढीमै रहेका छन्।अन्य नमुना सामुदायिक विद्यालयहरू सिन्धुली आसपासका जिल्लामै प्रशस्त छन्।तर भ्रमणको नाममा कहिले लुम्बिनी र स्वर्गद्वारी हानिने,त कहिले श्राद्ध गर्ने कागबेनी पुग्ने प्रवृत्ति मात्रै देखिएको छ। भ्रमणको उपलब्धि र बजेट शीर्षकको दुरुपयोग बारे बुझ्न सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेललाई फोन गर्दा उनको फोन उठेन।भने सुनकोशी गाउँपालिकाका सूचना अधिकारी अश्विन सुनुवारलाई फोन गर्दा भ्रमण भएको तर स्रोत व्यवस्थापन कहाँबाट भएको हो भन्ने एकीन आफुलाई थाहा नभएको बताए ।
यस्तै,मनपरी र दुरुपयोग विरुद्ध देशभर भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन भएर अर्बौंको क्षति भएको भएपनि तीन तहको सरकार मध्य नागरिकहरुको सबै भन्दा नजिकको सरकार स्थानीय तहको रवैया पुरानै रहेको प्रति जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।उनीहरुका अनुसार जेन–जी आन्दोलनकै बलमा अहिले शक्तिशाली सरकार बनेको भएपनि त्यही सरकारका मातहतमा रहेका स्थानीय निकायमा भने दुरुपयोग रोकिएको छैन्।
यता,सुनकोशी गाउँपालिका १ को शिक्षा तथा खेलकुद शिर्षकमा छुट्याईएको बजेटबाट निर्धारित कार्यक्रम नै गरिएको र गाउँपालिका भित्रका प्राय सबै सामुदायिक विद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको सुनकोशी गाउँपालिका १ का वडा सचिव रमेश थापाले बताए ।उनका अनुसार गाउँ सभाबाट पारित भएको बजेट शिर्षक कै कार्यक्रम अनुसार गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु पश्चीमको भ्रमणका गएका साथै बाटोमा परेका धार्मिक तिर्थस्थलहरुमा परम्परागत पुजा गरिएको हो ।