नेकपा(माओवादी केन्द्र)का नेता नरेन्द्र साहले विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता साहले आफ्नो क्षेत्रका विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेका हुन् ।
साक्षरता अभियान अन्तर्गत ‘ईच वान,टिच वान’ को नारा सहित आफूले सर्लाही क्षेत्र नम्बर ३ भरिका माध्यामिक विद्यालय तहका विद्यार्थीहरुलाई २ वटा कापी र एउटा कलम वितरण अभियान सूरु गरेको नेता साहले बताए । बुधबार‘ईच वान,टिच वान’ अभियानको पहिलो दिन बरहथवाको चक्र जनता शहिद गंगा मावि,चक्रघट्टाको औरही स्थित जनता मावि र हेमपुर स्थित मावि गरि तीन वटा विद्यालयमै पुगेर नेता साहले विद्यार्थीहरुलाई कापी र कलम हस्तान्तरण गरेका हुन् । ‘ईच वान,टिच वान’अभियानले सर्लाही क्षेत्र नम्बर ३ भरीमा करिब ७५ हजार थान कपी र कलम वितरण गरिने नेता साहले बताए । ‘ईच वान,टिच वान’ अभियानमा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको समेत साथ रहेको छ ।
२०७४ सालको प्रतिनिधि एवम प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित साह २०७९ मा सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए । दुई पटक चुनावमा पराजित भएपनि संविधान सभा सदस्य साहले समाज सेवाको कामलाई निरन्तरता दिई रहेका छन् ।
नेता साहले निरन्तर रुपमा आगलागी पीडित,विपन्न परिवार लगायतलाई घर निर्माण देखि न्यानो कपडा वितरण,स्वास्थ्य उपचार लगायतमा सहयोग गर्दै आएका छन् ।बजारमा सीसी क्यामेरा,कोरोना संक्रमणको समयमा माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री सहित अटो सेनिटाईजरिङ हुने मेशिनहरु समेत स्थानीय तहरुलाई नेता साहले उपलब्ध गराएका थिए । नेता साहको अगुवाईमा हिरापुरमा २५ करोड लागतमा धर्मशाला,पार्क र स्टेडियम निर्माणको काम सूरु भएको छ ।