सिन्धुलीको गोलन्जोरका उपाध्यक्ष न्यौपाने सहितका धेरै जनप्रतिनिधिहरुको सरकारी सवारी साधन दुरुपयोग

632 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका उपाध्यक्षले प्रयोग गर्ने सरकारी सवारी साधन पटक–पटक दुरुपयोग हुने गरेको पाइएको छ।उक्त सरकारी सवारी साधन कहिले पार्टीका कार्यकर्ता ओसार पसार गर्न त कहिले नेताहरूलाई आवत जावत गराउन र कहिले पालिकाको कामसँग असम्बन्धित प्रयोजनका लागि लामो दूरीसम्म प्रयोग हुने गरेको पाइएको छ ।
गत साउन १२ गते गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले प्रयोग गर्ने  सरकारी सवारी  साधन नेपाली कम्युनिष्ट पार्टी(नेकपा)सिन्धुलीका इन्चार्ज तथा निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) र नेकपाका कार्यकर्ता अमरदीप थापाको ओसार पसारमा प्रयोग भएको थियो।सो दिन दाहाल उपाध्यक्ष न्यौपानेको सरकारी सवारी साधन प्रयोग गरी गोलन्जोर गाउँपालिका–१ च्याकुटारमा भेटघाटका लागि पुगेका थिए।उक्त सरकारी सवारी साधन नेकपाका इन्चार्ज दाहाल र नेकपाका नेता थापा सवार थिए भने उपाध्यक्ष न्यौपाने उक्त सरकारी सवारी साधनमा थिएनन्।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
स्थानीयका अनुसार साउन १२ गते दिनभरि उक्त सरकारी सवारी साधन नेकपाका इन्चार्ज दाहालको आवत जावतका लागि प्रयोग गरिएको थियो।च्याकुटारबाट फर्किएपछि नेकपा इन्चार्ज दाहालसहितको टोली गोलन्जोर गाउँपालिकाको नयाँ प्रशासकीय भवनमा पुगेर अनुगमन तथा भेटघाट गरेको तस्बिर समेत सार्वजनिक भएको थियो।त्यसपछि भने उपाध्यक्ष न्यौपाने पनि सोही सरकारी सवारी साधनमा सवार भई नेकपा इन्चार्ज दाहालसँगै सिन्धुलीतर्फ आएका थिए ।
यता,सरकारी सवारी साधन दुरुपयोग भएको विषयमा उपाध्यक्ष न्यौपानेसँग जिज्ञासा राख्दा उनले आफुले प्रयोग गर्ने सरकारी सवारी साधन कसैलाई प्रयोग गर्न नदिएको र कुनै प्रकारको दुरुपयोग नभएको दाबी गरेका थिए ।त्यस्तै,नेकपा इन्चार्ज दाहालका लागि पालिकाको सरकारी सवारी साधन निजी सरह प्रयोग हुने गरेको पाइएको छ।सिन्धुलीका नौ वटा स्थानीय तहहरु मध्ये सात वटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्र हालको नेकपाका जनप्रतिनिधि निर्वाचित छन्।सुनकोशी,मरिण, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा अध्यक्ष तथा गोलान्जोर,घ्याङलेख र तीनपाटन गाउँपालिकामा उपाध्यक्ष तत्कालीन माओवादी केन्द्र हालको नेकपाबाट निर्वाचित भएका छन्।
आफ्नो पार्टीका जनप्रतिनिधिहरु रहेका स्थानीय तहमा पुग्दा नेकपा इन्चार्ज दाहालका लागि सम्बन्धित पालिकाको सरकारी सवारी साधन नै उपलब्ध गराइने गरेको स्रोतले जनाएको छ यसरी सरकारी सवारीसाधनलाई निजी सवारी साधन सरह प्रयोग गरिएको भन्दै स्थानीय स्तरमा आलोचना हुने गरेको छ।सरकारी सवारी साधन सञ्चालन कार्यविधि अनुसार सरकारी सवारीसाधन कार्यालयको आधिकारिक काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन।तर सिन्धुलीका अधिकांश पालिकाहरुका सरकारी सवारी साधनहरु प्रयोजन विपरित प्रयोग हुने गरेका पाइएको छ ।

सम्बन्धित समाचार