सर्लाहीमा कुकुरले टोकेपछि लगाउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको पाइएको छ।बरहथवा नगरपालिका १४ हरिपुर्वाका अन्दाजी १४ वर्षीय मुकेश बैठालाई छाडा कुकुरले टोकेपछि बरहथवा नगर अस्पताल पुग्दा रेबिजविरुद्धको भ्याक्सिन नपाएपछि जिल्लामा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको रहस्य बाहिरिएको छ ।
सरकारी स्वास्थ्य संस्थामा पाउनु पर्ने रेबिजविरुद्धको भ्याक्सिन जिल्लाका नीजि स्वास्थ्य संस्थाहरुमा रहेको भएपनि सरकारी स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको पाइएको हो।कुकुर तथा कुनैपनि जनावरले टोकेपछि तीन/तीन दिनको अन्तरमा तीन मात्रा रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्ने भएपनि सरकारी स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिन रु दुई सयमा पाउनु पर्नेमा नपाएपछि नीजि स्वास्थ्य संस्थामा रु छ सय ५० तिरेर रेबिजविरुद्धको भ्याक्सिन लगाउन बाध्य भएको मुकेशले गुनासो गरे ।
“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन्।अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन्।बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन।यहाँ दिनदिनै कुकुर,स्याल,बाँदर, बिरालो लगायतका जनावरले टोकिरहेको हुन्छ।”एक स्थानीयले बताए ।उनका अनुसार चिकित्सकहरुले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन पाएका छैनन् ।
“कुकुर,स्याल र बाँदर लगायतका जनावरले खेतमा काम गर्दै गर्दा,बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ, ,त्यस्ता जनावरको निगरानी कसरी गर्नु?”राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको स्थानीय जानकारहरु बताउँछन् ।उनीहरुका सरकारी स्वास्थ्य संस्थामा कोटा अनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि नीजि स्वास्थ्य संस्थामा महंङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ ।
जिल्लामा प्रादेशिक अस्पताल मलंगवा,नगर अस्पताल लालबन्दी,ईश्वरपुर,हरिवन,बरहथवा र बलराका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ।तर, ती केन्द्रहरुमा आएका औषधी एक हप्तादेखि १५ दिनमै सकिने गरेको स्वास्थ्यकर्मीको भनाई छ।तीन सय भाइल भ्याक्सिनको कोटा भए पनि कहिले महिना दिन,त कहिले १५ दिनलाई पनि नपुग्ने स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिए ।
डा. झाका अनुसार औषधी सकिने बित्तिकै माग फारम भरेर पठाउने गरे पनि ल्याउन समय लाग्ने हुँदा कहिले काहीँ १५/२० दिनसम्म भ्याक्सिन अभाव हुन्छ।चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधी लगाउनुपर्ने भए पनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दबाब हुने चिकित्सकहरुले बताएका छन् ।