वर्षाभएसँगै सर्लाहीका किसानहरु खुसी,धान रोप्न व्यस्त

2.2k Shares

तीन दिनदेखि लगातार वर्षा भएपछि सर्लाहीका किसानहरु खुसी भएका छन् । लामो समय सम्म पानी नपार्दा धान रोप्न नपाएका जिल्लाका किसानहरु अहिले पर्याप्त पानी परेपछि खुसी भएका छन् ।
यो पानीमा अब बाँकी रहेका सबै खेतमा रोपाइ भइसक्ने किसानहरुले बताएका छन्। धान रोप्न बाँकी रहेका खेतमा अहिले हिल्याउनका लागि हल गोरु तथा ट्याक्टर, बीउ उखेल्ने कामदार तथा धान रोप्ने रोपाहार व्यस्त देखिएका छन् ।
ढिलै भएपनि रोपाइँ गर्न हुने गरी पर्याप्त वर्षा भइदिँदा किसान खुशी हुँदै रोपाइ गरिरहेका छन्। पानी ढिलो गरी पर्दा धानको ब्याड निकै छिप्पिसकेको किसानहरुको गुनासो छ।
धान रोपाइँ हुँदा किसान खुशी भएपनि ब्याड छिप्पिएकाले धान उत्पादनमा कमी हुने होकि भन्ने चिन्ता लागिरहेको हरिवन नगरपालिका २ का किसान रामपुकार महतोलेले गुनासो गर्नुभयो । सर्लाहीका २० वटै स्थानिय निकायहरुमा धान खेती हुने गरेको छ। यहाँका किसानको मुख्य बाली धान खेती हो। अधिकांश किसानले यसभन्दा अगाडि परेकै पानीमा तथा कतिपय किसानहरुले पम्पसेट र कतिपयले कुलो तथा नहरको पानी लगाएर रोपाइँ गरेका थिए ।
पहिले रोपेको धान अहिले हरियो भएर गाँज समेत हाल्न थालेको छ। यसभन्दा अघि जिल्लामा ६५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशबाहले बताउनु भयो । उहाँका अनुसार  यो पानीमा सबै रोपाइँ हुने छ। 
यो बर्ष समयमा पानी नपर्दा किसानहरुलाई छटपटीले पिरल्यो। वर्षाले साथ नदिँदा किसानहरुले महँगीको डिजेल खर्चेर पम्पसेट चलाएर रोपाइँ गरेका छन्।यो वर्ष बागमती सिँचाइ आयोजनाले बेलैमा नहरमा पानी नछाड्दा नहरको पानी लाग्ने ठाउँका किसानहरुले पनि निक्कै हैरानी खेपेका थिए । साथै जिल्लामा मुख्य रोपाईको  समयमा पनि मलखाद् नपाउँदा किसानहरु मारमा परेका छन् ।          
 

सम्बन्धित समाचार