साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दै चिरख्वा हाइड्रोपावर

नवराज कार्की    प्रकाशित: २०८०-४-२१ गते   २८३ पटक हेरिएको

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ १० गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech