सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटबाट अवैध रुपमा चोरी पैठारी हुँदै गरेको सालको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट अवैध रुपमा चोरी पैठारी हुँदै गरेको २५ वटा सालको फल्ली प्रहरीले बरामद् गरेको हो ।
स्थानिय निकायको निर्वाचनको मौका छोपी अवैध रुपमा सालको काठ ओसारपसार हुँदै गरेको अवस्थामा ज. २ त १९६ नम्वरको ट्याक्टर सहति २५ वटा सालको फल्ली प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टरमा बालुवामुनी लुकाई छिपाई चोरी पैठारी गर्दै गरेको अवस्थामा सो काठ र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
लालबन्दी नगरपालिका १४, सत्रकठ्ठाबाट पत्थरकोटतर्फ ल्याउँदै गरिएको काठ बरामद् गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बालुवामा लुकाएर ल्याइएको १७ क्यूफिट बराबरको २५ थान चिरान फल्ली बरामद भएको हो ।
प्रहरीले काठसहित ट्याक्टरका चालक लालबन्दी नगरपालिका १२, का ५३ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार बरामद गरिएको ट्याक्टर, काठ र ट्याक्टर चालकलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय लालबन्दीमा बुझाइएको छ ।