लगातारको वर्षाले धानबालीमा ठुलो क्षति, किसानहरु चिन्तीत

3.1k Shares

आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धानबालीमा लगातारको वर्षाले नोक्सान पारेपछि सर्लाहीका किसानहरु चिन्तित भएका छन् । 
जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती रहेको र लगातारको पानीले उक्त धान खेतीमा ठुलो क्षेती पुगेको कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले जानकारी दिनु भयो ।
उहाँका अनुसार ‘आधा खेतको धान पाकी सकेको र किसानहरुले काटेका तर उठाउन नपाएका कारण खेत मै छ । अरू काट्न बाँकी छ । पानीले काटेको धानलाई डुबाएर ठुलो क्षेती पुर्याएको गुनासो किसानहरुले गरेका छन् । ‘वर्षभरि खाने अन्न स्याहार्ने बेला विजोग भयो । भकारीभरि धान राख्ने बेला पानीले नोक्सानी गरेपछि किसानहरुको उब्जनीमा ठूलो नोक्सान भएको कार्यालयको भनाई छ ।’
जिल्लाका किसानहरुले धान रोप्ने समयमा पनि मल खाद्य नपाएर सास्ती बेहोरेका थिए भने बिउवीजन र धानमा पछि मल हाल्ने समयमा मल नपाएर समस्या परेका किसानहरु जसोतसो पाकेको बाली भित्र्याउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् ।
‘काटेको धान पानीमा डुब्यो भने दुई÷तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धान खेतीले गुजारा चलेको थियो । पानीले सबै चौपट गरायो ।’ हरिवन नगरपालिका २ का किसान रामपुकार महतोले गुनासो गर्नु भयो ।
४४ हजार हेक्टर क्षेत्रफलमा किसानहरुले लगाएको धान यस वर्ष १ लाख ७६ हजार मेट्रिक टन फल्ने अनुमान गरिएको थियो । गत वर्ष भन्दा यस वर्ष करिब १० प्रतिशत बढी धान फल्ने अनुमान गरिएको भएपनि लगातारको वर्षाले केही समस्या सृजना हुँदा उत्पादन राम्रो भएको भएपनि पाकेर भित्र्याउने क्रममा पानीले समस्या ल्याउँदा केही प्रतिशत घट्न सक्ने आंकलन गरिएको केन्द्रले जनाएको छ । 
लगातारको वर्षाका सबै स्थानिय निकायका किसानहरु समस्यामा परेका छन् । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानहरुले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको हरिवन नगरपालिका ५ का उमेश महतोले बताउनु भयो ।
लगातारको वर्षाका कारण पुर्व पश्चीम लोकमार्गका अधिकांश कलभर्टहरुमा पानीको बहाव बढेकोले ठूला सवारीसाधन आउजाउ गरे पनि मोटरसाइकल, अटो, टेम्पो लगायतका साना सवारी साधनहरु पनि मारमा परेका जिल्ल ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार