सिन्धुलीको घ्याङलेख गाउँपालिका स्थित रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।पुस २९ गते बुधबार करिब साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० का अन्दाजी ४९ वर्षीय विएडी ०३९८ टाटा सुमो नम्बरको सुमो चालक भागवतसिंह थापा,सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का अन्दाजी ४७ वर्षीय चतुरमान बज्यु,चितवनको भरतपुर महानगरपालिका २ का अन्दाजी २४ वर्षीय शशांक श्रेष्ठ,नुवाकोटको पञ्चकन्या गाउँपालिका ५ का अन्दाजी २३ वर्षीय मिलन गिरी,सोही ठाउँका अन्दाजी १९ वर्षीय विवेक मगर,सिन्धुलीको घ्याङलेख गाउँपालिका २ का अन्दाजी ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक रहेका छन् ।
प्रहरीका अनुसार पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारी समेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए।बैंकका सुरक्षा गार्डलाई खुकुरी समेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरु फरार भएका थिए ।
घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा उक्त टाटा सुमो र चालक सिंहलाई फेला पारी निजलाई प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको विवरणको आधारमा बैंक लुटपाटमा संलग्नको खोजि गरि उनीहरुलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीले जनाएको छ ।उक्त दिन बैंकबाट रु तीन करोड सात लाख लुटी उनीहरुले लगेका नेपाल एसबिआई बैँक शाखा कार्यालय घ्याङलेखले जनाएको छ ।
पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले रु दुई करोड ६८ लाख ५५ हजार एक सय ७५ बरामद गरेको छ।साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी,एक थान प्लास्टिकको पेस्तोल,पाँच थान मोबाइल, एक थान ठुलो पानी टेप,तीन थान कालो रङको नकाब र एक थान रातो नकाबका साथै एक जोर कालो पञ्जा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।