पूर्व–पश्चिम हुलाकी सडकको निर्माणलाई थप तीव्रता दिने निर्णय पनि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल लगायत निर्माण व्यावसायी र हुलाकी सडकका प्रतिनिधिहरुको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सुरक्षा अधिकारी,सडक कार्यालयका प्रतिनिधी,निर्माण व्यवसायी लगायत बीच बसेको बैठकले सडक निर्माणको काम गर्ने क्रममा कुनै अवरोध तथा समस्या आए सबै मिलेर समाधान गर्दै सडक निर्माणको कामलाई तीव्रता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।समय सीमाभित्र निर्माणको काम पूरा नभए सम्वन्धित निर्माण व्यवसायीलाई कारवाही गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
यसैबीच,जिल्लामा दर्ता भएर संचालनमा रहेका क्रसर उद्योगलाई नवीकरण नभए पनि आगामी असार मसान्तसम्म संचालन गर्न अनुमती दिइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमै आईतबार बसेको बैठकबाट मन्त्री परिषद्को माघ ११ गतेको निर्णय अनुसार नै नवीकरण नभए पनि असार मसान्तसम्म संचालन हुन दिने निर्णय भएको हो ।
क्रसर उद्योगको अनुगमन गर्न बनाइएको समितिले दिएको प्रतिवेदन अनुसार दर्ता भएका र नभएका उद्योग पहिचान गरी दर्ता भएकालाई चलाउने दिने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनका अनुसार दर्ता नै नभएका क्रसर उद्योगलाई बन्द गराउने निर्णय भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहको अध्यक्षतामा बसेको सो बैठकमा प्रमुख जिल्ला अधिकारी यादव, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षकसुवेदी,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरीक्षक भण्डारी,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक ढुंगेल,डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद सहित मालपोत,घरेलु,राजश्व लगायत कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।