सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनी मधेश प्रदेशद्वारा चालु आ.वको १० महिनामा ५३ करोड बढी राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१६ गते   २३०५ पटक हेरिएको

सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनी मधेश प्रदेशले चालु आर्थिक वर्षको १० महिनामा रु ५३ करोड भन्दा बढीको राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महिनामा सशस्त्र प्रहरीले रु ५३ करोड ८५ लाख १८ हजार ५ सय ८० बराबरको अवैध सामान भन्सार दाखिला गरेको हो ।
 मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा ओसार पसार भएका सामाग्री नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश बहादुर ठाडामगरले जानकारी दिनुभयो ।
छिन्नमास्ता बाहिनीका बाहिनी पति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मगरका अनुसार सोही अवधिमा रु १ करोड ५२ लाख ९८ हजार ३ सय ९० बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका पशु चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद् गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले बताउनु भयो ।
रु १ करोड ३९ लाख ३० हजार ९ सय ७२ बराबरको ४ हजार ३ सय ५२ दशमलव ८८ क्यूबि फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवम् बिओपीहरुको टोलीले प्रदेशका विभिन्न स्थानबाट उक्त परिणाम बराबरको काठ बरामद गरेको हो । मधेश प्रदेशका ८ वटैै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३ सय ८४ दशमलव ९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरि नष्ट पारिएको डिआईजी मगरले बताउनु भयो ।
३१ दशमलव ९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १ सय ७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५ सय २१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 
सो अवधिमा रु २६ लाख ९८ हजार ७ सय ५७ बराबरको सुनचाँदी बरामद् गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको छ । अवैध रुपमा ल्याइएको भारु १७ लाख ५९ हजार ७ सय १ भरतीय मुद्रा र रु २ करोड ५४ लाख १ सय २८ नेपाली मुद्रा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीको तथ्यांकमा उल्लेख छ । रु ७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र रु ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागज पनि बरामद गरिएको डिआईजी मगरले बताउनुभयो ।
उहाँका अनुसार १ हजार ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २ सय १३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले जनाएको  छ । सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०७८÷०७९ को १० महिनामा सबै गरेर रु रु ५३ करोड भन्दा बढीको राजश्व संकलन गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech