सर्लाहीका बजारमा विषादीयुक्त आँप बिक्रि वितरण सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१९ गते   १३०६ पटक हेरिएको

सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण सुरु भएकोे छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण शुरु गरेका हुन् ।
नेपाल तथा भारतका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु लालबन्दी सहित जिल्ला सदरमुकाम मलङ्गवा,हरिपुर, बरथवा, वयलवास र हरिवनका बजारहरुका साथै गाउँगाउँमा समेत विक्री वितरण सुरु भएको भइरहेको किसान रामपुकार महतोले बताउनुभयो ।
विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका ६ का सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा बिरामी हुने,ज्वारो आउने,झाडापखाला लाग्ने लगायतका समस्या देखिने गरेका छन् । 
बगैँचामा आँप ढिलो पाक्ने भएपछि काँचो टिपेर पकाउन औषधि प्रयोग गरि सोही आँप बजारमा आउने गरेको किसान रविशरण महतोले बताउनुभयो । उहाँका अनुसार यसरी पकाइएको आँप हेर्दा खान मनलाग्ने खालको देखिएपनि स्वास्थ्यका लागि हानीकारक हुन्छ । आँप हेर्दा बोटमै पाकेको जस्तै देखिने भएपनि सिजन नभएकाले विषदीको प्रयोग गर्नु पर्ने बाध्यता रहेको किसनहरुको भनाई छ । व्यापारीहरूले बाहिरबाट प्रतिकेजी रु ४०÷५० मा काँचो आँप ल्याउँने र विषादी प्रयोग गरेर पाकेपछि रु १ सय देखि १ सय १० सम्ममा बिक्री गर्ने गरेका छन् ।
स्थानीय व्यापारीले किसानको काँचो आँपको बगैँचा नै किन्ने गर्छन् । त्यसपछि गोदाममा ल्याएर औषधि छर्केर राख्छन् । यसरी राखेको आँप १÷२ दिनमै पाक्छ । यो हेर्दा पहेलो र आकर्षक हुन्छ । बगैँचामा पाकेको आँप बजारमा आउन अझै करिब २ साता लाग्ने स्थानीय व्यापारीहरुले बताएका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदिप प्रसाद काफ्लेले बताउनुभयो । कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख काफ्लेले सुझाव दिनुभयो 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech