सर्लाहीमा अनियमित विद्युत कटौती,बाहना बनाउँदै पन्छीदै प्राधिकरण वितरण केन्द्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२९ गते   १२३७ पटक हेरिएको

सर्लाहीमा पछिल्लो समय अनियमित विद्युत कटौती बढेको छ । जिल्लाको नवलपुरमा १३२÷३३ के.भी.ए.को सव स्टेशन निर्माण भई सञ्चालनमा आईसकेको भएपनि विभिन्न बाहनामा अनियमित विद्युत कटौती हुँदा जिल्लाबासी मारमा परेका छन् ।
१३२÷३३ के.भी.ए.नवलपुर सव स्टेशनको ट्रान्सफर्मर मर्मत तथा टेष्टिङको काम गर्न भन्दै जिल्लामा अनियमित रुपमा विद्युत कटौती हुँदा जिल्लाबासी मारमा परेका हुन ।
जिल्लामा विद्युत् छिनछिनमै आउने जाने गरिरहेको छ । बत्ती आउनेजाने समस्याले उपभोक्ता हैरान भइरहेका छन् । जसले गर्दा विद्युतीय उपकरण समेत धमाधम बिग्रन थालेको उपभोक्ताहरुको गुनासो छ ।
नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा केही महिनाअघि निर्माण पूरा भएको १३२÷३३ के.भी.ए.मा जडान गरिएको ६३ एम.भि.ए.को ट्रान्सफर्मर मर्मत तथा टेष्टिङका लागि भन्दै यस पटक विद्युत काटिएको भएपनि अन्य समयमा समेत अनियमित रुपमा विद्युत काटौती भई रहेको छ ।
टेष्टिङको काम भर्खरै सकिएकाले ट्रान्सफर्मरबाट विद्युत् प्रवाहमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरण १३२÷३३ के.भी.ए.नवलपुर सव स्टेशनका प्रमुख निरन्जन साहले बताउनु भयो । उहाँका अनुसार सव स्टेशनमा ६३ एम.भि.ए.को ट्रान्सफर्मर मर्मत तथा टेष्टिङका लागि लाईन काटिएको हो ।तर सामान्य हावाहुरी चल्दा र वर्षाको समयमा पनि विद्युत् अनियमित रुपमा कटौती भई रहेको छ ।
सर्लाहीमा तीनवटा वितरण केन्द्रमध्ये लालबन्दी र मलंगवा वितरण केन्द्रमा नवलपुर सवस्टेशन र बरहथवा वितरण केन्द्रमा रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनबाट बत्ती जोडिएको छ । नवलपुर सव स्टेशनमा सामान्य समस्या आउँदा जिल्लाका लालबन्दी र मलंगवा वितरण केन्द्र अन्र्तगतका स्थानमा लाईन काटिन्छ भने रौतहटको चन्द्रनिगाहपुर सवस्टेशनमा सामान्य समस्या आउँदा बरहथवा वितरण केन्द्र अन्र्तगतका स्थानमा लाईन कट्ने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech