सर्लाहीको हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा रहेको सर्लाही ट्रक यातायात व्यवसायी संघले सञ्चालन गरेको धर्मकाँटामा मंगलबारदेखि डिजिटल धर्मकाँटा संचालनमा आएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले सर्लाही ट्रक व्यवसायी संघले हरिवन नगरपालिका १० नयाँरोडमा संचालन गरेको धर्मकाँटालाई डिजिटलाईजेसन गरि डिजिटल धर्मकाँटा संचालनमा ल्याएको सर्लाही ट्रक व्यवसायी संघका अध्यक्ष राम बहादुर दवाडीले जानकारी दिए ।उनका अनुसार नेपालकै पहिलो डिजिटल धर्मकाँटा धादिङको धार्केमा सञ्चालनमा रहेको र यो दोस्रो डिजिटल धर्मकाँटा हो ।
धर्मकाँटामा डिजिटलाईजेसन भएपछि सवारी धनीले आफ्नो सवारीमा लोड भएको सामान, चालकको स्थिति र वजन लगायतका बारेमा घरमै बसेर थाहा पाउने नेपाल ट्रक यातायात व्यवसायी माहासंघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए।उनका अनुसार नेपाल सरकारको यातायात व्यवस्था विभागमा समेत रेकर्ड रहने गरी डिजिटल धर्मकाँटा सञ्चालनमा ल्याइएको र आफ्नो सवारी साधनमा अवैध सामाग्री ओसार पसार तथा बढ्दो दुर्घटनाको जोखिम समेत नियन्त्रण हुने छ ।सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),हरिवन नगरपालिकाका निवर्तमान प्रमुख गणेश प्रसाद प्रसाई,नगर उप–प्रमुख हरिमाया घलान र महासंघका केन्द्रिय सदस्य बद्री चौलागाई लगायतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि डिजिटल धर्मकाँटा सञ्चालनमा ल्याइएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका सह–कोषाध्यक्ष राजन केसीले जानकारी दिए ।
कार्यक्रममा हरिवन नगरपालिका १० का अध्यक्ष शम्भुप्रसाद मैनाली,ईलाका प्रसाशन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा,महासंघका मधेस प्रदेस संयोजक धुर्व अर्याल,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक रजोस घिमिरे, नारायणी यातायात व्यवसायी संघका सचिव शालीग्राम ढकाल,तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन अधिकारी र हरिवन नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते लगायत सर्लाहीका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
डिजिटल धर्मकाँटा सञ्चालनमा आएपछि त्यहाँ खटिएका ट्राफिक प्रहरी अधिकारीहरुको तलब बाहेकको असुली घट्ने जानकारहरु बताउँछन्।हाल अस्थायी ट्राफिक प्रहरी चेकपोष्ट नयाँ रोड(काँटा)ले दैनिक करिब सात हजार असुली रहेको र अब डिजिटल धर्मकाँटा सञ्चालनमा आएपछि उनीहरुको त्यस प्रकारको असुली घट्ने जानकारहरु बताउँछन् ।