Close This

सर्लाहीमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन जिससमा निर्विरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३ गते   १६९० पटक हेरिएको

जिल्ला समन्वय समिति सर्लाहीमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) विच गठबन्धन भएको छ । गठबन्धन गरी जिल्ला समन्वय समिति सर्लाहीको उममेदवारी दिएका नेपाली कांग्रेसका कौशलकिशोर सिंह प्रमुख र नेकपा(माओवादी केन्द्र) का जीतेन्द्र कुमार महतो  उप प्रमुखमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारको मनोनयन पत्र दर्ताको समय छुट्याइएको भए पनि कांग्रेस–माओवादी केन्द्र गठवन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा  माओवादी केन्द्रका  महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत एवम जिल्ला अदालतका न्यायाधीश ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।

जिल्लाको बलरा नगरपालिका १, हथियौल निवासी सिंह वैशाख ३० मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेसबाट बलरा नगरपालिकाको नगरप्रमुखमा पराजित हुनु भएको थियो । त्यसपछि माओवादी केन्द्रसँगकै तालमेलमा सिंह कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीको  प्रमुखसहित उपप्रमुख र बाँकी ७ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत एवम जिल्ला अदालतका न्यायाधीश पियाले जानकारी दिनुभयो । कांग्रेसले प्रमुखसहित ६ जना सदस्य र माओवादी केन्द्रले उपप्रमुखसहित १ जना सदस्य भागबण्डा मिलाएर जिल्ला समन्वय समिति सर्लाहीको निर्वाचनमा तालमेल गरेका थिए । जसअनुसार उपप्रमुखमा माओवादी केन्द्रबाट मलङ्गवा नगरपालिका ८ का  महतो निर्वाचित हुनुभएको हो ।

यस्तै, सदस्यहरुमा कांग्रेसबाट लालबन्दी नगरपालिका १७ का रामबहादुर बोम्जन, हरिपुर नगरपालिका ५, का अलाउँदिन मियाँ, हरिपूर्वा नगरपालिका ५, की रामशिला कुमारी यादव, चक्रट्टा गाउँपालिका ४ की रेखादेवी साह, ईश्वरपुर नगरपालिका १५, की पासवती देवी थरुनी र गोडैता नगरपालिका ६, की सोनावती देवी चयन हुनु भएको छ ।

त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका १५, का हेम कार्की सदस्यमा चयन हुनु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि कांग्रेस एक्लैलाई बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो ।

स्थानिय निकायका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जिल्ला समन्वय समितिका मतदाता हुन्छन् । जिल्लामा २० स्थानिय निकायमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष गरी ४० जना मतदाता रहेका छन् । जसमा कांग्रेस एक्लैसँग १२ पालिका प्रमुख र ११ पालिकाको उपप्रमुखसहित २३ मत रहेको छ ।

त्यस्तै, माओवादी केन्द्रसँग ४  स्थानिय निकायका प्रमुख र उपप्रमुखसहित ८ मत रहेको छ । जनता समाजवादी पार्टी (जसपा) सँग २ पालिका प्रमुख र उप्रमुखसहित ४ मत रहेको छ । नेकपा एमालेसँग १ पालिका प्रमुख र २ पालिका उपप्रमुखसहित ३ मत रहेको छ । सबैभन्दा कम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक पालिका प्रमुख र उपप्रमुख गरी २ मत रहेको छ । शुक्रबार उम्मेदवारी दर्ता गर्दा निर्विरोध निर्वाचित भएपनि आधिकारिक रुपमा प्रमाण–पत्र भने असार ५ गते आईतबार मात्रै वितरण गरिने मुख्य निर्वाचन अधिकृत पियाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech