जिल्लाका तीन मध्य दुई बारूण–यन्त्र बिग्रिँदा आगलागीबाट ठुलो क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-७ गते   ९९७ पटक हेरिएको

जिल्ला समन्वय समिति सर्लाहीको पहिलो बैठकले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको सहयोगमा  जिल्लाका सबै पालिकाहरुमा बारुण–यन्त्र उपलब्ध गराउने निर्णय  गरेको छ । देश भरमै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा अहिले हरिवन नगरपालिकामा मात्र बारूण–यन्त्र सञ्चालनमा रहेको छ । मलंगवा नगरपालिकामा २ वटा बारूण–यन्त्र रहेका भएपनि दुई वटै बारूण–यन्त्र बिग्रिएर बसेका छन् ।
जिल्लाका अन्य स्थानिय निकाय र जिल्लाबाहिर समेत दमकल पठाउनुपर्ने भएपनि मर्मतको खर्च कर्मचारीको पारिश्रमिक,इन्धन खर्च र मर्मत सम्भार गर्नुपर्ने आफुहरुलाई बाध्यता रहेको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनु भयो ।“अरु स्थानिय नियकाहरुले सहयोग नगरे एउटा स्थानिय निकायले मात्रै दमकल सञ्चालनको खर्च धान्न सक्ने अवस्था नरहेको र दमकल सञ्चालनबारे नीति नै बनाउन जरुरी रहेको छ,” प्रमुख प्रशासकीय अधिकृत प्रधानले बताउनु भयो ।उहाँले “आफू रौतहटको गौर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर बस्दा जुन स्थानिय निकायमा आगलागी भएर दमकल गएको हुन्छ, सोही स्थानिय निकायसँग रु १० हजार लिने गरेको भएपनि सर्लाहीमा त्यो व्यावस्था नरहेको बताउनु भयो । ” उहाँले यस्तै प्रकारको नीति नबनाए सञ्चालनमा रहेका दमकल बन्द हुने अवस्था आउने बताउनु भयो ।
जिल्ला सदरमुकाम मलंगवा नगरपालिकाको दमकल अधिकांश समय बिग्रिएर थन्किएको हुन्छ । “जिल्लाभर दौडिनुपर्दा पुरानो दमकल बिग्रिहाल्छ, बनाउँदाको सास्ती छ,”, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनु भयो ।उहाँका अनुसार जहाँ जाँदा बिग्रिएर पनि मर्मतको खर्च भने नगरपालिकाको मात्रै हुन्छ, कुनै पनि पालिकाले सहयोग गर्दैनन् ।”दमकल सञ्चालन गर्न अत्यन्तै चूनौति रहेको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनु भयो ।
मलंगवा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नागेन्द्र यादवले केही साता बिग्रिएर थन्किएको दमकल सदरमुकाम मलंगवामै सामग्री मगाएर मर्मत गरी सञ्चालनमा ल्याउने बताउनु भयो । मलंगवाको दुईवटा दमकलमध्ये एउटा दमकल वर्षौदेखि बिग्रीएर थन्कीएर बसेको छ । नगरप्रमुख यादवले दुवै दमकललाई सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको बताउनु भयो । 
जिल्लाका अधिकांश ठाउँमा डोलले पानी हालेरै आगो निभाउनुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीप्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले बताउनु भयो ।उहाँका अनुसार“दमकलको समस्याले धेरै ठाउँमा डोलले पानी हालेर आगो निभाउनुपर्ने बाध्यता छ, त्यसले गर्दा क्षति पनि धेरै नै भइरहेको छ ।” जिल्लाका स्थानीय निकायहरुले दमकल खरिदलाई प्राथमिकतामा नराखेको भन्दै स्थानीयले गुनासो गर्दै आइरहेका छन् । स्थानियका अनुसार जिल्लामा तीन वटा बारूण–यन्त्र भएपनि दुई वटा बिग्रिएका कारण एउटा बारूण–यन्त्र मात्र सञ्चालनमा आउँदा आगलागीबाट ठूलो क्षेती भोग्नु परेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech