पेट्रोलियम पदार्थको मुल्य वृद्धिको मार एम्बुलेन्सलाई,भाडा नबढेको र पेट्रोलियम पदार्थको मुल्य बढेको गुनासो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-७ गते   १२४६ पटक हेरिएको

पेट्रोलियम पदार्थको लगातार मुल्यबृद्धि भएपछि सर्लाहीका एम्बुलेन्स चालकहरु मारमा परेका छन् । पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको भन्दै जिल्लाका एम्बुलेन्स चालकहरुले आफुहरु मारमा परेको भन्दै गुनासो गरेका छन् ।
जिल्लामा करिब ६० वटा एम्बुलेन्स रहेका भएपनि लगातार बढेको पेट्रोलियम पदार्थका कारण एम्बुलेन्स सञ्चालन गर्न सक्ने अवस्था नरहेको संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन नेपाल सर्लाहीका सचिव मोहन बहादुर कार्की(रमेश)ले कमलामाई खबरलाई बताउनु भयो ।कमलामाई खबरसंगको छोटो कुराकानीमा संघका सचिव कार्कीले सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको भएपनि एम्बुलेन्सको भाडा बढाउने काम नगर्दा आफुहरु पुरानै भाडा दररेटमा एम्बुलेन्स सञ्चालन गर्न नसकिने अवस्था आएको छ ।
सरकारले पेट्रोलियम पदार्थको मुल्य चाँही लगातार बढायो तर एम्बुलेन्स भाडा दररेट बढाउने काम गरेन् जसका कारण आफुहरु पुरानै भाडामा एम्बुलेन्स चलाउन नसक्ने अवस्थामा रहेको संघले जनाएको छ ।
यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले एम्बुलेन्स  मानव जीवनसंग प्रत्यक्ष जोडिएका कारण एम्बुलेन्स चालकहरुसंग बसेर छलफल गरी केकसरी जान सकिन्छ त्यो विषयमा चाँडै समिक्षा गर्ने बताउनु भयो । उहाँले एम्बुलेन्सको भाडा पनि धेरै बढाउँदा पीर मर्कामा परेका मानिसहरुलाईपनि मारमा नपर्ने गरी संघ संग छलफल गरेका  समस्या समाधान गर्ने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech