तयार नेपालको आर्थिक पुनरुत्थान कार्यक्रमले गरीबको जीन्दगीमा परिवर्तन ल्याए दिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका ५ की भक्तमाया सार्कीले २०५० सालमा बाढीको महा विपती भोगेपछि आफ्नो जीन्दगीमा फेरि खुशी फर्किएला भनेर सोचेकै थिईनन् । त्यसबेला बागमती खोलामा आएको बाढीले भएको जायजेथा बगाएपछि उनको बिल्लीबाठ हुन पुग्यो । ३१ वर्षअघि नै श्रीमान गुमाएकी उनी त्यो विपती सम्झिँदा अहिले पनि भावुक बन्छिन् । आफ्ना दुई छोरा भएपनि कुनैले हेरचाह नगरेपछि मलंगवामा बाढीको बितण्डा भोगेर लालबन्दीमा बसाई सरेर आएकी भक्तमायाको दिनचर्या अहिले बद्लिएको छ ।
तयार नेपाल नामक संस्थाले उनलाई चिया पसल सञ्चालन गर्न रु ३० हजार आर्थिक सहयोग गरेको थियो । त्यसबाट चार पांग्रे ठेला किनेर चिया पसल सूरु गरेकी उनले अहिले दैनिक ५ देखि ६ सय आम्दानी गर्दै आएकी छिन् । ‘तयार नेपालले कोरोना संक्रमणको महामारीकै समयमा गरेको आर्थिक सहयोग मेरा लागि भगवान नै भेटिए झैँ भएको छ, भक्तमायाले भनिन्, यसैबाट जीवन जिउने आधार मिलेको छ, अत्यन्त खुशी छु ।’ उनले भनिन् । उनको मुहारमा लामो समयपछि खुशी फर्काउन तयार नेपाल सफल भएको छ ।
विपतीको कहर र आफ्नै सन्तानको साथ नपाएर एक्लो भएकी भक्तमायाले अहिले चिया पिउने थुप्रै नियमित ग्राहक बनाई सकेकी छिन् । लालबन्दीस्थित दुर्गा मन्दिर नजिक गरिरहेको व्यवसाय धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । उनी एक्लैले गरेको व्यवसायबाट व्यवहार मात्रै चलेको छैन् । पुराना विपती र सन्तानबाट भएको अपहेलना भुलाउन पनि मद्धत पुगेको उनले सुनाइन् ।
यसैगरी, श्रीमानले दोस्रो विवाह गरेपछि तरकारी बेचेर तीन सन्तानको पालन पोषण गर्दै आएकी लालबन्दी नगरपालिका ५ की रामकुमारी साह पनि कोरोना महामारीको बेला समस्यामा थिईन् । उनलाई कतैबाट सहयोग नमिले पनि लकडाउन खुलेपछि फेरि आफै तरकारी बेचेर जीवन निर्वाह गर्न थालेकी छन् । ‘मलाई विभिन्न बहाना बनाएर श्रीमानले नागरिकता नै दिएनन्, वडाध्यक्ष र महिला अधिकारकर्मीहरुको पहलमा विवाह गरेको १६ वर्षपछि बल्ल नागरिकता पाएको छु, साहले भनिन्, श्रीमानबाट अनेक लान्छना लगाउने र दुव्र्यवहार भएपनि अहिले तीन सन्तानलाई तरकारी बेचेर पालिरहेको छु । उनको भनाई छ ।
तयार नेपाल नामक संस्थाका प्रतिनिधी निराजन चौधरीले लालबन्दी नगरपालिमा ५ महिना बसेर परियोजना सञ्चालन गर्दा भक्तमाया सार्की,रामकुमारी साह र मुनियाँ खातुन जस्ता हिंसा पीडित तथा कोरोना संक्रमण महामारीले गर्दा दैनिकी गुजार्न समस्या परेका महिलाहरुलाई सहयोग गरिएको जानकारी दिनु भयो । ‘उनीहरुजस्तो समस्यामा परेकालाई व्यापार व्यवसाय गर्न आर्थिक सहयोग गर्यौ, सहयोग पाएपछि अहिले उनीहरुको दैनिकी फेरिएको छ ।’ संस्थाले लालबन्दी नगरपालिकासँगको समन्वयमा विभिन्न १० किसिमका कार्यक्रम सञ्चालन गरेको चौधरीले बताउनु भयो ।
लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले घरेलु हिंसा पीडित महिला र विपतीमा परेकाहरुलाई यस किसिमको सहयोगी कार्यक्रमले ठूलो राहत मिलेको बताउनु भयो ।‘हिंसा पीडितलाई चेतनाको कमी, सम्वन्धित निकायसम्म पहुँच नहुनु, परिवारको असहयोग जस्ता कारणले न्याय दिलाउनै गाह्रो भएको वडा अध्यक्ष भण्डारीको भनाई छ । रामकुमारीलाई १६ वर्षपछि नागरिकता दिलाएको स्मरण गर्दै उहाँले दोस्रो विवाह गरेर अन्यत्र बस्ने श्रीमानलाई बल्लतल्ल झिकाएर नागरिकता दिलायाँै ।’ श्रीमान पक्षबाट सहयोग हुदैन, वडा अध्यक्ष भण्डारीको भनाई छ । वडा अध्यक्ष भण्डारीले कोरोना संक्रमणको बेला अझ बढी घरेलु हिंसाका घटना भएका बताउँदै अझै पनि लैंगिक समानतका लागि अभियान चलाउन आवश्य रहेको बताउनु भयो ।
महिला आफै व्यवसायमा लागेर आर्थिक रुपमा सक्षम भएको परिवारमा लैंगिक हिंसा कम भएको देखिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले बताउनु भयो । कोरोनाको महामारीका बेला भएका लैंगिक तथा घरेलु हिंसाबारे नगरपालिकाको न्यायीक समितिमा उजुरी आएका छन्, तीनको अहिले पनि समाधान गर्ने प्रयास भइरहेका छ, नगर प्रमुख खड्काले बताउनु भयो । केही हिंसा पीडित महिलालाई कोरोनाकै महामारीका बेला तयार नेपाल नामक संस्थाको साझेदारीमा सहयोग गरेको उहाँले बताउनु भयो । उनीहरुले व्यापार व्यवसाय गरेर आर्थिक उपार्जन गर्न थालेपछि हिंसा न्यूनिकरणमा टेवा पुग्नुका साथै लंैगिक समानतामा सघाउ पुग्ने नगर प्रमुख खड्काले बताउनु भयो ।
यस्तै, लालबन्दी नगरपालिका १ नवलपुरकी मुनियाँ खातुन माथिको हिंसा र कोरोना संक्रमणको समयमा उनले भोग्नु परेको पीडा पनि दर्दनाक नै छ । अहिले ३५ वर्ष पुगेकी उनी पहिलो विवाह गर्दा उनको श्रीमानको दोस्रो विवाह थियो । यो कुरा उनलाई विवाहपछि मात्रै थाहा भयो । उनीसँग श्रीमानले झुक्याएर भागी विवाह गरेका हुन् । आफ्नो जात भन्दा कथित तल्लो जातीसँग विवाह गरेको भन्दै उनलाई घर परिवार र समाजले स्वीकार गरेनन् ।
त्यसपछि खातुनमाथि घरेलु हिंसा हुन थाल्यो । उनी पीडित बन्न थालिन । श्रीमान र समाजबाट अपहेलित भएपछि उनले पुनः जिन्दगी सहज बन्ने र परिवार तथा श्रीमान दुवैले स्वीकार गर्ने आशसहित दोस्रो विवाह गरिन् । तर यो पटक पनि उनीमाथि धोका हुन पुग्यो । दोस्रो पटक उनले विवाह गरेको श्रीमानको श्रीमती छँदै थिईन् भने दुईवटा छोराछोरी पनि थिए । यो परिवारमा पनि असाध्यै पीडा भएपछि उनले दोस्रो श्रीमान र परिवार समेत त्यागेर अदालतबाट सम्बन्ध नै विछोड गरिन् ।
यसपछि उनी अब आफ्नो खुट्टामा आफै उभिने अर्थात् स्वालम्वी बन्ने प्रयत्नमा लागिन् । उनले साथीसँग रु २ हजार सापटी लिएर सानो फलफूल पसल सुरु गरिन् । यसबाट उनलाई पेट पाल्न समस्या पर्न छाड्यो । पसल चल्दै गयो । कोठा भाडा, कपडा लगायत सर सामग्रीको खर्च पनि टार्न थालिन् । विस्तारै पुराना पीडा विर्सदै गएकी खातुनलाई कोरोना भाईरसको महामारीले उही अवस्थामा फकाईदियो । लकडाउन भएपछि उनले पसल चलाउन पाइनन् । फलफूल बेचेर कमाएको केही पैसा लकडाउन सूरु भएको केही दिनमै खानामा सकियो । फेरि पहिले झैँ के खाने ? के लगाउने ? भन्ने चिन्ताले उनलाई सताउन थाल्यो ।
यही अप्ठेरो अवस्थामा उनका लागि पनि तयार नेपाल नामक संस्थाको सहयोग मिल्यो । यूएसएआइएडीको सहयोगमा सो संस्थाले उनलाई लकडाउन पश्चात रु ३२ हजार ऋण दियो र उनले त्यसैबाट तरकारी खेती सूरु गरिन् । अहिले यसैले दैनिकी धानेको छ । ‘तरकारी बेचेर दैनिक करिब एक हजारको हाराहारीमा कमाई हुन्छ, तयार नेपालले सहयोग नगरेको भए यस्तो विपतीको समयमा मलाई आर्थिक सहयोग गर्ने कोही थिएनन्, खातुनले भनिन्, संस्थाले मलाई जीवन जिउन योगदान गरेको छ । संस्थाप्रति धेरै आभारी छु ।’ र मेरो लागि जे भनेपनि तयार नेपाल नै हो । उनले भनिन् । तयार नेपालको सहयोगले आफुहरुको दैनिकीमा परिवर्तन आएको उनिहरुको भनाई छ ।