जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पिउनका लागि ल्याइएको मिनरल वाटरमा सेतो लेदो भेटिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायतको उपस्थितिमा बैठक बसिरहँदा पिउनका लागि ल्याइएको जोया वाटर इष्ड्रष्टिज बालमन्दिर मलङ्गवा नगरपालिका ९ ले उत्पादन गरेको मिनरल वाटरको बोतलभित्र दहीको छोक्राजस्तै देखिने सेतो लेदो भेटिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गाैतमले जानकारी दिनभयाे ।
उहाँका अनुसार एउटा बोतलको पानीमा सेतो लेदो र अर्को बोतलको पानी कालो रङ्गकोे देखिएपछि तत्कालै पानीको गुणस्तर परीक्षणका लागि पठाइसकिएको छ ।
फोहोर भेटिएको दुईवटा पानीको बोतलमध्ये एउटा पानीको बोतल ‘शिल’ समेत नतोडी गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मलंगवामा पठाइएको र अर्को बोतल कार्यालयमै राखिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम सुचना अधिकारी हरि प्रसाद अधिकारीले बताउनुभयाे । उहाँका अनुसार पानी उत्पादन गर्ने कम्पनिका सञ्चालक नुर आलमलाई जिल्ला प्रशासन कार्यालय सर्लाही मै बोलाइ उहाँकै रोहबरमा बोतलको पानी ल्याब परीक्षणका लागि पठाइएको हो ।
पानीको के कसरी उत्पादन भइरहेको छ ? र सो कम्पनिले उत्पादन गरिरहेको पानी तत्काल बिक्रीका लागि बजार पठाउन दिने नदिने ? भन्नेबारे सम्वन्धित निकायहरुसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।