मिटरब्याजी अर्थात चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई सर्लाही ल्याइएको छ । केही दिनअघि महोत्तरीको गौसलाबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको प्रहरीले जनाएको छ ।
ब्रह्मपुरी गाउँपालिका ४,त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौ अघिदेखि आइरहेको थियो । सो गुनासो सहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले सर्लाहीका पीडितहरुको उजुरी धेरै आएका कारण सर्लाही ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला अदालत सर्लाहीबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरु ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।
साहुबाट लिएको ऋणको पैसा भन्दा दोब्बर÷तेब्बर बढी पैसा बुझाउँदा पनि कहिल्यै ऋण चुक्ता नहुँदा पीडितहरुले स्थानीय स्तरसँगै काठमाण्डौं सम्म पुगेर आन्दोलन गर्दै आइरहेका छन् ।
सर्लाही प्रहरीले यसअघि ‘मिटरब्याजी’ आरोपी श्यामकृष्ण साह(श्याम परदेशी) र रामबाबु राय यादवविरुद्ध पनि ठगीकै आरोपमा मुद्दा दायर गरी कारवाही गरेको थियो ।उनि यस अघि पनि एक पटक पक्राउ परेका र अदालतमा केही रकम धरौटी राखेर रिहा भएका थिए ।