धार्मिक पर्यटकीय स्थल नुनथर दुर्घटना स्थल बन्दै

2.1k Shares

सर्लाही र रौतहटको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका १ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरुले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिम पूर्ण बनेको हो ।
नुनथर क्षेत्र विकास समिति र स्थानीय प्रशासनको गैर जिम्मेवारीपनाका कारण सो स्थानमा हरेक वर्षे ६÷७ जना पर्यटकहरुको ज्यान गइरहेको छ । पर्यटकहरु सचेत नभइदिँदा र नुनथर क्षेत्र विकास समिति र स्थानीय प्रशासनले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम चाल्न नसक्दा दुःखद् घटनाको समाचार धेरै बन्ने गरेको स्थानीयको गुनासो छ ।
हरेक वर्ष साउनमा मेला लाग्ने र वनभोजलगायतको गन्तव्यस्थल बन्ने नुनथरमा नदीको गहिराई र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकको ज्यान जाने गरेको स्थानीयको भनाइ छ । नुनथर मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाईवस्तुहरु यस क्षेत्रमा चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ ।
नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइएपनि विषेश गरी साउनमा बोलबमका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानहरुबाट पर्यटकहरु घुम्न तथा पिकनिक खान आउने गरेका नुनथर क्षेत्र विकास समितिका सदस्य सचिव समिर कार्कीले बताउनु भयो ।उहाँका अनुसार नुनथर क्षेत्रमा साउनको महिनाभर नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दु धर्मलम्बी भक्तजनको घुँइचो समेत लाग्ने गर्छ । 
सो स्थानमा वागमती नदीस्थिर देखिएपनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानीय सुरेन्द्र सापकोटाले बताउनुभयो । उहाँले यसरी वर्षेनि सरदर ५÷६ जना नुनथर घुम्न आउनेहरु बागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको छ ।
तीर्थयात्रा र पर्यटन गर्न आएकाहरु बागमती नदीमा पौडी खेल्न,नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपाने बताउनुभयो । नुनथर क्षेत्र विकास समिति मातहत रहेको सो नुनथर क्षेत्रका मानिसलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने न्यौपानेको भनाई छ ।
धेरै मानिस डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुंगामा ‘खतरा’ लेखिएपनि पर्यटकले त्यसको बेवास्ता गरेको प्रहरीले जनाएको छ । ठूलो ढुंगामा ‘खतरा’ लेखिएकोे संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटकहरु पौडी खेल्न,नुहाउन जाने गरेकाले धेरै दुर्घटना निम्तिएको चन्द्रपुर नगरपालिका १ का निवर्तमान वडा अध्यक्ष विर बहादुर रखाल मगरले बताउनु भयो ।उहाँले स्थानीय प्रशासनले पनि बारम्बार बागमती नदीमा पौडी नखेल्न,ननुहाउन अनुरोध गरेपनि त्यसलाई तीर्थयात्री र पर्यटकहरुले नै बेवास्ता गर्ने गरेको देखिएको छ ।
पर्यटक रमाइलोको लागि नुनथर घुम्न आउँछन् । तर पौडी खेल्ने,नुहाउने क्रममा बागमती नदीमा हुने दुःखद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको स्थानियको भनाई छ । नदीमा पौडी खेल्न जानुअघि पर्यटकहरु पनिसचेत हुनुपर्ने देखिन्छ । यसरी वर्षेनि बागमती नदीमा डुबेर आगन्तुकको मृत्यु हुने क्रम रोक्न नुनथर विकास समिति,चन्द्रपुर नगरपालिका र स्थनीय प्रशासनले विशेष कदम चाल्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार