“जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा तोडफोड र आगजनी हुँदा सर्लाहीमा ६३ करोड भन्दा बढीको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। “जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा तोडफोड र आगजनी हुँदा सर्लाहीमा रु ६३ करोड ५५ लाख बराबरको सार्वजनिक सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
“जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा तोडफोड र आगजनी हुँदा पूर्ण क्षति रु ४७ करोड २० लाख,आंशिक क्षति रु १४ करोड ३० लाख र सामान्य क्षति रु दुई करोड पाँच लाख गरी कुल रु ६३ करोड ५५ लाख बराबरको क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले बताए ।
उनका अनुसार जिल्लामा सबैभन्दा धेरै क्षति स्थानीय तहहरुमा भएको छ ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका छवटा पालिकामा पूर्ण क्षति,दुईवटा पालिकामा आंशिक क्षति र तीनवटा पालिकामा सामान्य क्षति पुगेको छ।जस अनुसार लालबन्दी,ईश्वरपुर,बरहथवा,हरिपुर र हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकामा पूर्ण क्षति पुगेको विवरणमा उल्लेख छ ।
पूर्ण क्षति भएका छ पालिकामध्ये लालबन्दी नगरपालिकामा सबै भन्दा बढी रु १७ करोड बराबरको क्षति भएको छ,भने ईश्वरपुर नगरपालिकामा रु १२ करोड,बरहथवा नगरपालिकामा रु १० करोड,हरिपुर नगरपालिकामा रु दुई करोड ७५ लाख,हरिपुर्वा नगरपालिकामा रु दुई करोड ४४ लाख र चन्द्रनगर गाउँपालिकामा रु तीन करोड एक लाख बराबरको क्षति भएको छ ।
त्यसैगरी आंशिक क्षति पुगेको हरिवन नगरपालिकामा रु १० करोड चार लाख,बागमती नगरपालिकामा रु तीन करोड ७५ लाख,सामान्य क्षति पुगेको ब्रम्हपुरी गाउँपालिकामा रु १६ लाख,मलंगवा नगरपालिकामा रु छ लाख र पर्सा गाउँपालिकामा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रादेशिक कार्यालयतर्फ सामान्य क्षति पुगेको कृषि ज्ञान केन्द्र मलंगवामा रु १५ लाख,संघीय कार्यालयतर्फ आंशिक क्षति पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ,सर्लाहीमा रु ४८ लाख र पालिका हुलाक कार्यालय लालबन्दीमा रु तीन लाख बराबरको क्षति भएको छ ।संघीय सरकार मातहतकै सामान्य क्षति पुगेको नेपाल प्रहरीका विभिन्न युनिटहरुमा रु एक करोड ४५ लाख,सशस्त्र प्रहरी बल नेपालका विभिन्न चेक पोष्टमा रु छ लाख र सर्लाही जिल्ला अदालतमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार“जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा निजी सम्पत्तिमा भएको भौतिक तथा आर्थिक क्षतिको सम्वन्धमा विवरण संकलन हुनेक्रम जारी रहेको छ।साथै प्रारम्भिक क्षतिको विवरण संकलन भएसँगै स्थानीय प्रहरी,प्रशासनले दोषी व्यक्तिको पहिचान गर्ने र कारवाही अघि बढाउने काम सुरु गरेको स्रोतले जनाएको छ ।