Close This

अन्नपूर्ण उद्योगका मालिक अग्रवाल विरुद्ध प्रशासनको पक्राउ पूर्जी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२ गते   २७७ पटक हेरिएको

 जिल्लाको धनकौलमा रहहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
 ‘उखु उत्पादक किसानहरुले दिएको उजुरीका आधारमा उद्योगी अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको प्रजिअ पौडेलले बताउनु भयो । ‘उद्योगले उखु उत्पादक किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।’स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सक्ने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
जिल्लाकै हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग र गोडैताको बगदह स्थित महालक्ष्मी सुगर मिलको भने किसानहरुलाई दिनुपर्ने बक्यौता भुक्तानी गरिसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अन्नपूर्णले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैता लगायतका स्थानीय निकायका हजारौं उखु उत्पादक किसानहरुको झण्डै पाँच वर्ष देखिको उखुको भुक्तानी नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् । गत सिजनमा उक्त उद्योगलाई किसानहरुले उखु नै नदिएपछि सो उद्योग सञ्चालन नै हुने सकेन् । उखुको भुक्तानी नपाएर आजित बनेका किसानहरुले केही दिनदेखि काठमाडौंको माईतीघर मण्डलामा निरन्तर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् । 
यो पल्ट भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने किसानहरुले चेतावनी दिएका छन् । सरकारले पटक–पटक सहमती गर्ने तर भुक्तानी नगराउने गरेकाले यसपटक भुक्तानी नलिई घर नफर्कने किसानहरुको अडान रहेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो ।
उद्योगले गत वर्ष नै किसानहरुको भुक्तानी दिने सहमती जनाएको भएपनि अहिलेसम्म उखुको बाँकी भुक्तानी नदिएको उखु उत्पादक किसान मुकेश ठाकुरले बताउनु भयो । उद्योगले किसानहरुको बांकी भुक्तानी नदिएसम्म सो उद्योगलाई  उखु नदिने बताए पछि गत वर्ष उद्योग सञ्चालनमा नआएको ठाकुरको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech